वासिङ्टन । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा पार्दै सैन्य गतिविधि, तेल व्यापार, ढुवानी तथा प्रतिबन्ध छल्ने सञ्जालसँग सम्बन्धित करिब ६० व्यक्ति, संस्था र जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी अर्थ मन्त्रालयले यो कदमलाई इरानको आम्दानीका प्रमुख स्रोत र अन्तर्राष्ट्रिय सञ्जाललाई कमजोर बनाउने उद्देश्यसहित अघि बढाइएको जनाएको छ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार पछिल्लो कारबाही राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरु गरिएको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नामक व्यापक आर्थिक अभियानको हिस्सा हो। अभियानमार्फत इरानी शासनलाई आर्थिक रूपमा अलग्याउने र उसको सैन्य तथा रणनीतिक गतिविधिका लागि आवश्यक आम्दानीमा नियन्त्रण गर्ने लक्ष्य राखिएको छ।

नयाँ प्रतिबन्धको मुख्य निशानामा इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल क्षेत्र, तेल ढुवानी सञ्जाल र प्रतिबन्ध छल्न प्रयोग हुँदै आएका व्यावसायिक संरचना परेका छन्। अमेरिकी अधिकारीहरूले इरानले तेल बिक्रीबाट प्राप्त हुने आम्दानीमार्फत आफ्नो सैन्य क्षमता र अन्य गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएका छन्।

यसपटक सिंगापुरमा रहेको ध्भििदचभम ऋबउष्तब ितथा संयुक्त अरब इमिरेट्स र स्विट्जरल्यान्डसँग सम्बन्धित उसका व्यापारिक कम्पनीहरू पनि अमेरिकी प्रतिबन्धमा परेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार यी कम्पनीहरू इरानी तेल व्यवसायी मोहम्मद हुसेन शाम्खानीसँग जोडिएका छन् र तेल, नाफ्था, पेट्रोकेमिकल तथा एलपीजीको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न थिए।

अमेरिकाले इरानसँग सम्बन्धित ‘शाडो फ्लीट’ अर्थात् प्रतिबन्ध छल्दै तेल ओसारपसार गर्ने जहाज तथा त्यससँग जोडिएका कम्पनीमाथि पनि निगरानी र कारबाही बढाएको छ। यसअघि पनि अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल निर्यातमा प्रयोग भएका विभिन्न जहाज तथा कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको थियो।

वासिङ्टनले पछिल्लो कदम केवल इरानभित्र सीमित नरहने संकेतसमेत दिएको छ। अमेरिकी अधिकारीहरूले इरानको तेल तथा अन्य व्यापारिक गतिविधिलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्जालमाथि समेत कारबाही अघि बढाउन सकिने बताएका छन्। यसले इरानसँग व्यापार गरिरहेका अन्य देश र कम्पनीमाथि पनि दबाब बढ्न सक्ने देखिएको छ।

अमेरिकाको कदमपछि इरानले भने कडा प्रतिक्रिया दिएको छ। तेहरानले अमेरिकी प्रतिबन्धको विरोध गर्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी पक्षले आर्थिक दबाब र धम्कीले कूटनीतिक समाधान खोज्ने प्रयासलाई थप कठिन बनाउन सक्ने बताएको छ।

यसैबीच, नयाँ प्रतिबन्धको असर विश्व ऊर्जा बजारमा समेत देखिन थालेको छ। इरान विश्वको प्रमुख तेल उत्पादक मुलुकमध्ये एक भएकाले उसको तेल निर्यातमा थप अवरोध आए अन्तर्राष्ट्रिय बजारमा आपूर्ति, मूल्य र विशेषगरी एसियाली मुलुकहरूको ऊर्जा सुरक्षामा प्रभाव पर्न सक्ने चिन्ता बढेको छ।

अमेरिका र इरानबीच तनाव बढिरहेका बेला पछिल्लो प्रतिबन्धले दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप जटिल बनाएको छ। वासिङ्टनले आर्थिक दबाबलाई निरन्तरता दिने संकेत गरेको छ भने तेहरानले अमेरिकी कदमको प्रतिरोध गर्ने चेतावनी दिएको छ। यसले आगामी दिनमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा र ऊर्जा बजारमा थप अनिश्चितता निम्त्याउन सक्ने देखिएको छ।