दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा टाइफुन नार्राका कारण परेको लगातारको भारी वर्षाले बाढीको अवस्था गम्भीर बनेको छ। बाढीका कारण अहिलेसम्म करिब ५४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीमध्ये ८ हजार ८७ जनालाई आपत्कालीन आश्रयस्थलमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
गुआङ्सीको चोङ्जुओ क्षेत्रमा बाढीको पानीले घर, पसल तथा सडक डुबाएको छ। नदीको जलस्तर केही स्थानमा यसअघिका उच्च रेकर्डभन्दा माथि पुगेपछि स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीबाट ठूलो संख्यामा मानिसलाई स्थानान्तरण गरेको हो। चोङ्जुओबाट मात्रै १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको छ।
नार्रा केही दिनदेखि बेइबु खाडी क्षेत्रमा रहेकाले दक्षिणी चीनमा लगातार वर्षा भइरहेको छ। यसको प्रभाव गुआङ्सीसँगै हाइनान र ग्वाङडोङलगायतका क्षेत्रमा समेत परेको छ। भारी वर्षाका कारण पूर्वाधार तथा कृषि क्षेत्रमा क्षति पुगेको छ भने उद्धारकर्मीहरूले डुङ्गाको प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजाने काम गरिरहेका छन्।
मौसम पूर्वानुमानअनुसार गुआङ्सी, ग्वाङडोङ, हाइनान र फुजियानका केही क्षेत्रमा बुधबारसम्म भारी वर्षा जारी रहन सक्ने सम्भावना छ। यसले थप बाढी तथा पहिरोको जोखिम बढाउने भएकाले स्थानीय अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्।
टाइफुन नार्राको प्रभाव चीनसँगै उत्तरी भियतनाममा पनि देखिएको छ। दुवै देशमा बाढी र पहिरोका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। चीनमा उद्धार तथा राहत कार्य जारी रहेकाले प्रभावित क्षेत्रमा वर्षाको अवस्था र नदीको जलस्तरलाई निरन्तर निगरानीमा राखिएको छ।