विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित रामजानकी मन्दिर पछाडिको गाईगोठबाट प्रहरीले ४१३ किलो ९८० ग्राम गाँजा बरामद गरेको छ ।
बुधबार इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले गाँजा लुकाइछिपाइ राखिएको सूचनाका आधारमा गाईगोठमा खानतलासी गर्दा कालो प्लास्टिकले बेरिएको सेतो बोराभित्र गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट गोठको पछाडि बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको बीआर ३८ आर ०५५८ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
बरामद गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ । गाँजा कसले त्यहाँ लुकाएर राखेको थियो, मोटरसाइकल कसको हो तथा यसको ओसारपसारमा को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।