विजयपुर । सुनसरी प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले धरानबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधिसहित एक युवक र इटहरीबाट १० किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। धरान उपमहानगरपालिका–१५ स्थित त्रिवेणी चोकबाट बुधबार धरान–५ का २२ वर्षीय सूर्य लावती पक्राउ परेका हुन्। उनको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको नहर छेउको भित्री सडकखण्डबाट १० किलो ३० ग्राम गाँजा बरामद गरिएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान–२० की २१ वर्षीया अञ्जली राईले बोकेको झोलाबाट गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ५० वर्षीय विजय चौधरी र राईलाई गाँजा तथा अटोसहित नियन्त्रणमा लिएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।