एकतामा विविधता भएको हाम्रो देश नेपाल त्यस्तै विविधतामा एकता भएको हाम्रो प्यारो देश नेपाल । विभिन्न चाडपर्वहरू मनाइने देश नेपाल । समय अनुकूल मनाइने चाडपर्वहरूमध्ये रक्षाबन्धन, जनै पूर्णिमा तथा क्वाती पुन्हि आजै धुमधामसँग मनाइँदै छ ।
आज एकाबिहानै नुहाइधुवाइ गरी सप्तऋषिहरूलाई तर्पण दिने गरिन्छ । त्यसैले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । विशेषगरी हिन्दूहरूले मनाउने पर्व हो जनै पूर्णिमा । आज बिहानै खोलानाला वा पानीको स्रोत भएको ठाउँमा गई स्नान गरी, शुद्ध भई ब्राह्णहरूले जनै फेर्ने गर्दछन् । जनै फेर्दा गुरु पुरोहितले मन्त्रोच्चारण गरी जनै शुद्ध गरिएका हुन्छन् । आजै घर घर घुम्दै वा मन्दिर परिसरमा बसेर मन्त्र उच्चारण गर्दै कतिपय पुरोहितहरूले आम नागरिकहरूलाई रक्षाबन्धनका रूपमा रक्षा सूत्र (डोरा) बाँधिदिन्छन् । यी डोराहरू पूजा पाठ गरी मन्त्र उच्चारण गरेर शुद्ध पारिएका हुन्छन् ।
परपम्रागत विधिसम्मत ढङ्गले बाँधिदिएका रक्षा सूत्रले हामीमा भएको नकारात्मकता हटाउँछ र सकारात्मक ऊर्जा दिने गर्दछ भन्ने आम जनविश्वास रहेको पाइन्छ । हिन्दूहरूले धारण गरेको यो डोरा लक्ष्मीपूजाको दिन मात्र फुकाल्ने प्रचलन छ । यस दिन गाईलाई पूजा गरी गाईको घाँटीमा माला लगाएर वा गाईको पुच्छरमा यो डोरा बाँधिदिनाले वैतरणी नदी पार गर्न सकिन्छ र आफूले गरेको पापबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहिआएको पाइन्छ तर यो परम्परा क्रमशः लोप हुँदै गइरहेको छ ।
प्रायः नेवार समुदायहरू विभिन्न स्वादिला परिकार बनाउन खप्पिस हुन्छन् । उनीहरूको लागि आज विशेष दिन पनि हो । तिनीहरू आजको दिनलाई “क्वाती” पुन्हीका रूपमा मनाउँछन् । चना, मटर, भटमासलगायत विभिन्न नौ किसिमका गेडागुडी मिसाएर स्वादिष्ट ढङ्गले पकाएर खाने गर्दछन् । यसैलाई “क्वाती” भनिन्छ । नेवारी भाषामा “क्वा” भनेको तातो र “ती” भनेको झोल हो । यसरी विभिन्न नौ किसिमका गेडागुडी मिसाएर पकाइएको तात्तातो झोल खानु स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ ।
यसले शरीरलाई ऊर्जा प्रदान गर्दछ । यसले सर्दी हटाउनुका साथै शरीरमा भएका विकारजन्य कीटाणुहरूलाई मारेर शरीरलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ । अहिलेको अवस्थामा तातो पदार्थ खानु र पिउनु कति आवश्यक छ भनेर भनिरहनु त्यति आवश्यक नपर्ला । क्वातीको अलावा उनीहरू आज अन्य विभिन्न मिठा मिठा परिकार पनि बनाएर खाने गर्दछन् । क्वातीको प्रभाव अन्य समुदायमा पनि परेको पाइन्छ । ती समुदायका व्यक्तिहरूले पनि आज क्वाती बनाएर खाने गर्दछन् । यसलाई कसैेकसैले जिस्किएर वा नजानेर ‘कोक्ती’, ‘क्वाटी’ पनि भन्ने गर्दछन् तर यसको सही शब्द भने “क्वाती” नै हो ।
आजका दिन नेवारहरू अलग बसेका वा टाढाटाढा बसेका कतिपय दाजुभाइहरू पनि आज एकै ठाउँमा बसेर क्वाती खाने गर्दछन् । जूठो परेकाहरूबाहेक धेरैजसोले आजको दिन आफ्नो छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई बोलाएर क्वातीका अलावा अन्य मिठा र स्वादिला परिकार पनि पकाएर खुवाउँछन् । यसरी गेडागुडीको तातो झोल खानाले प्रशस्त प्रोटिन र भिटामिन पाई शरीरलाई ऊर्जावान बनाउँछ । अझ यी गेडागुडीहरू अङ्कुरित गरी सेवन गरेमा अझ धेरै पौष्टिकता प्राप्त हुने गर्दछ । पारिवारिक भेटघाटमा रमाइने नेपालका विभिन्न चाडपर्वहरूमध्ये यो पनि एक हो ।
आज रक्षाबन्धन पर्व पनि हो । आज नेपालको विभिन्न क्षेत्रमा बसोबास गरेका विशेषगरी तराईमूलका मानिसहरूले रक्षाबन्धन धुमधामका साथ मनाउँछन् । आफ्ना दाजुभाइलाई दिदीबहिनीहरूले ‘राखी’ बाँधिदिने गर्दछन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई रुपैयाँ पैसा उपहार दिन्छन् । दाजुभाइहरूले दिदीबहिनीहरूको जहिले पनि रक्षा गर्ने र रक्षाकवचको रूपमा अडिग भई रहने वचन दिने गर्दछन् । दिदीबहिनीहरूले पनि आफ्ना दाजुभाइहरूलाई मिठामिठा परिकार बनाएर खुवाउने गर्दछन् । दिदीबहिनी र दाजुभाइप्रतिको अटुट माया, स्नेह देखाउन यो पर्व मनाउने उनीहरूको आफ्नै परम्परा छ । यसदिन राखी बाँध्न नपाउने दाजुभाइ तथा दिदीबहिनीहरूको मन अत्यन्त पीडादायी हुन्छ । विदेशमा भएका वा अन्यत्र बसी विविध कारणले राखी बाँध्न आउन नसकेका दाजुभाइहरूलाई सम्झेर कुनै दिदीबहिनीहरू त धुरुधुरु रुने पनि गर्दछन् । कसैकसैले आफ्नो मनले खाने, घरपरिवारले रुचाएका व्यक्तिलाई दिदीबहिनी वा दाजुभाइ मानेर ‘राखी’ लगाउने, लगाइदिने पनि गर्दछन् ।
विभिन्न समयमा मनाइने विभिन्न चाडपर्वहरूको आ–आफ्नै विशेषता रहेको पाइन्छ । सभ्य भएर हामीले आफ्नो चाडपर्व मनाउनु र अरूको देखासिकी नगरी आफ्नो अवस्था अनि आस्थाअनुसार चाडपर्व मनाउनु नै आजको आवश्यकता हो ।