विजयपुर । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख ३९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

प्रहरीले आवश्यक कारबाहीका लागि बरामद सामान सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुई स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ बाट किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । उक्त सामानको अनुमानित मूल्य ३ लाख १३ हजार ८ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीले देवानगञ्ज गाउँपालिका–४ बाट २५ हजार २ सय रुपैयाँ बराबरको सर्सोको बीउ बरामद गरेको छ ।


फरार प्रतिवादी पक्राउ

विजयपुर । सुनसरी प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा रामधुनी नगरपालिका–५, झुम्काबाट २७ वर्षीय करिया भन्ने सफरोज मियाँलाई पक्राउ गरेको हो । उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका थिए । पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार, सुनसरी पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।