विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–२, डम्फु चोकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा डम्फु चोकमा मोटरसाइकल रोकी बसिरहेको अवस्थामा प्रदेश ०१–०३–०४७ प ११०८ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई हाल सुनसरीको इटहरी–२ बस्ने २२ वर्षीय उज्ज्वल राई र इटहरी–४ बस्ने २१ वर्षीय सविन मगर रहेका छन् ।

उनीहरूको १ हजार २० ट्याबलेट प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ ।