विराटनगर । कोशी प्रदेशका झापा, तेह्रथुम र मोरङका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगर–१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रहरी चौकी शरणामतीको टोलीले बिर्तामोड नगरपालिका–२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । तेह्रथुमको अस्थायी प्रहरी पोस्ट चित्रेको टोलीले धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २९ वर्षीय सुजित भण्डारीलाई ७६ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित इलाका प्रहरी कार्यालय पथरीको टोलीले कानेपोखरी गाउँपालिका–४ का ३४ वर्षीय राजकुमार लिम्बुलाई ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।