उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाएका छन्।
 बुधबार आयोजित कार्यक्रममा उनले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता र सम्मान व्यक्त गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।
 “विदेशी सैन्य कारबाहीमा भाग लिने हाम्रा सेनाका कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान व्यक्त गर्दछु,” उनले भने।
 सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि उत्तर कोरिया मस्कोको प्रमुख सहयोगी बनेको विश्लेषकहरूले बताएका छन्। आर्थिक लाभ र सैन्य प्रविधिको बदलामा प्योङयाङले रुसको युद्धमा सहयोग गर्दै आफ्ना सैनिकसमेत पठाएको बताइएको छ।
 दक्षिण कोरियाका अनुसार रुस–युक्रेन युद्धमा उत्तर कोरियाका करिब दुई हजार सैनिक मारिएका छन्। युक्रेनले गत अगस्टमा रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गर्दै त्यसबाट कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको थियो।
 युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिने दाबी गरे पनि त्यसको प्रमाण वा निश्चित समयसीमा सार्वजनिक गरेको छैन।
 युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिण कोरियालाई रुसी क्षेप्यास्त्रबाट जोगिन हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका थिए। दक्षिण कोरियाले उक्त आग्रहबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। रासस/एएफपी