नेपाली महिलाको महान् पर्व तीज विशेष गरेर शिव र पार्वतीको प्रणयसित घनिष्ठरूपमा जोडिएको देखिन्छ । शिवलाई किरातेश्वर भनिन्छ । अर्थात् शिवलाई किराती वा जनजातिका देवता वा आराध्यदेव मानिन्छ । तर यता पार्वती अहिलेको भाषामा भन्दा खस आर्य परिवारकी चेली हुन् । अनि शिव र पार्वतीबाट कुन जातको मान्छे जन्मियो ? यस्ता सत्यतथ्य कुरा आम महिलाका बीचमा उजागर गरे चरम् जातीय तुस हटाउन ठूलो सहयोग पुग्छ । जसरी सामन्तवादले यस्ता पर्वहरूमा चरम् जातीय, धार्मिक सांस्कृतिक रूढी र अन्धविश्वास फैलाएर आफ्नो राजनीतिका स्वार्थ पूरा गर्छ । त्यसका विरुद्ध नरम र मीठो शैलीमा त्यसका विरुद्ध चेतना जगाउने काम गर्नुपर्छ ।
यस वर्ष भोटेकोशीमा आएको बाढीले रसुवालगायत जिल्लामा जनधनको व्यापक क्षति भयो । जसले गर्दा नेपालीहरूमा यसपालि पहिले झैँ उमङ्ग देखिएको छैन । सरकारले सामान्य बाढी ठान्दा र यसबारे गम्भीर नहुँदा विकराल समस्या नेपालीले भोग्नुपरेको देखिन्छ । तर पनि मन खुम्च्याएर भए पनि तीजजस्ता पर्वको प्रगतिशील पक्षबारे यस लेखमा विमर्श गर्न खोजिएको छ । अहिले विभिन्न जातजाति नश्ल, थर, गोत्रका नाममा आपसी सद्भाव बिथोलिन खोजेको देखिन्छ । शिव र पार्वतीको अन्तरजातीय प्रणयजस्ता विषय हाम्रा लागि ठूलो शिक्षा हो । यस्ता आपसी सद्भाव बढाउने खालका चाडपर्वबारे प्रगतिशील महिला नेतृ जानकार हुनै पर्छ । उहिले जातभात, नाक, नश्ल, थर र गोत्र जस्ता सङ्कीर्ण चिन्तन पनि देखिन्न ।
दासीपुत्र विदुर, पहिलो इन्जिनियर विश्वकर्मा, परासर ऋषि र मझिनी छोरीबाट जन्मिएका व्यास जन्मले होइन कर्मले उच्च ठहरिएका हुन् । ऋषिहरूले दासीकी छोरीसित, तल्लो जातका भनिएका छोरीसित विवाह गरेको विभिन्न सन्दर्भमा पढ्दै आएका छौँ । उतिबेला महिलाले पति रोज्न पाउने सङ्केत तीजमा देखिन्छ र त्यसलाई नियन्त्रण गर्ने परिपाटी पनि सुरु भएको थाहा हुन्छ । यो कुराले मातृसत्ता र पितृसत्ता दुवैको आपसमा द्वन्द्व रहेको बुझिन्छ । अझ मातृसत्ता अलि बलियो भएको कुरा पार्वतीका साथीसङ्गीहरूले उनकै मर्जीअनुसार घरबाट खानेकुरा (लुकाएर, भगाएर वा हरण गरेर एकान्त जङ्गलमा लगेको हुँदा अर्को भाषामा तीजलाई हरितालिका भनिएको) पाइन्छ । त्यसबेला यसरी छोरीचेलीहरूले वा साथीहरूले पार्वतीलाई सङ्गठितरूपमा साथ दिने कुरो सामान्य होइन ।
पानीसमेत नखाई पार्वतीले तपश्या गरेको भन्ने कुराको अर्थ अहिले माग पूरा गर्न गराउन दबाव स्वरूप अनसन बसेजस्तै हो तर त्यसैलाई अनुशरण गरेर तीजमा पानी पनि नखाई बस्दा गतिलो पति पाइन्छ र विवाहित महिलाले पनि पानीसमेत नखाई ब्रत बस्दा पतिको आयु बढ्छ भन्नु अन्धविश्वास मात्र हो ।
यस्ता अन्धविश्वासलाई तीजका अवसरमा छिमल्न सकिन्छ । जननेता मदन भण्डारीले स्वर्गीय ओम कोइरालाका घरमा भूमिगतकालमा आउँदा आमाहरूको आग्रहमा स्वस्थानी ब्रतकथा वाचन गरिसकेपछि ब्रतकथाका रूढीवादी र अन्धविश्वासी कुरा भावी सन्ततिका लागि भए पनि नमान्न आमाहरूलाई अनुरोध गर्दा उहाँहरूले मौन समर्थन जनाउनुभयो । सम्झाउने क्षमताका मानिसले सम्झाउनु पनि पर्छ । अर्को शिवपार्वतीको प्रेम र दाम्पत्य जीवन हामी नेपालीहरूका लागि एक उदाहरणीय प्रेम हो । यस प्रेमले हाम्रोजस्तो बहुजातीय, बहुसांस्कृतिक देशमा मेलमिलाप कायम गर्न ठूलो सहयोग पुग्छ । जातीय, धार्मिक तथा सांस्कृतिक विविधता देशको सम्पत्ति हो ।
यस कुरामा अबुझ भई एकअर्काप्रति बाहिर र मनभित्र मडारिएका जातभात, नाक र नश्लजस्ता चरम् विभेदकारी भावना हटाउन तीजले सहयोग पुग्छ । त्यसैले तीजमा रामरमितो मात्र गर्ने होइन; त्यसमा रहेका केही सन्देशमूलक ज्ञान र शिक्षा पनि आम महिलाका बीच प्रसार गर्नुपर्छ । इटहरीमा ०४८ सालमा म आफै अनेम सङ्घ गाउँ समितिको अध्यक्ष हुँदा प्रगतिशील तीज कार्यक्रम सुरु गरिएको थियो । त्यतिबेला पूर्वाञ्चलमा यस खालको कार्यक्रम कहीँ कतै भएको थिएन । हामीले आमाहरूलाई राम्ररी सम्झाएर पानी खाई ब्रत बस्ने र विस्तारै ब्रतका दिन फलफूल खाने बनाएका थियौँ । साथै तीज समारोहमा प्रगतिशील गीतसहित नाचगान गरेका थियौँ ।
अहिले यो परम्परा जस्तै भएको छ । अलिपछि वडावडामा यो कार्यक्रमलाई विस्तार गरियो । भएभरका नेता एउटै कार्यक्रममा मात्र उपस्थित हुने भन्दा सबैतिर छरिएर र मन्तव्य दिएर कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ । तीजजस्ता कार्यक्रममा एकपानाको भए पनि विषय पत्र तयार गरौँ र वाचन गरौँ । यसले ठूलो सन्देश जान्छ भनेकी छु । तीजलगायत अनेक चाडपर्व संस्कार र संस्कृति मनाउने समुदायका अगुवालाई राम्ररी सम्झाएर बुझाएर सबै क्षेत्रमा रहेका रूढीवाद र अन्धविश्वास हटाउन पहल गर्नुपर्छ ।
शिव र पार्वतीका कोखबाट कुन जात र थरको सन्तान जन्मियो कसैले भन्न सक्छ ? नेपालमा कुनै जात, जाति र समुदायको रगत शुद्ध छैन भनिन्छ । अनि व्यर्थमा विभिन्न कारणले हामी हामीमा विभाजित गर्ने कुरामा भुलिनु हुँदैन । यस्ता गहन कुराहरू तीजजस्ता पर्वमा रहेको हुँदा यो शिक्षाको प्रचार–प्रसार गर्न भुल्नु हुन्न । त्यसैले विभिन्न पर्वहरूमा टन्न खाने र मस्ती मात्र गर्ने होइन । दिल, दिमाग र बौद्धिक विकास गर्ने पक्षहरूमा पनि पर्याप्त ध्यान दिनुपर्छ । अनि महिला जागृतिलाई सघाउने कामलाई ध्यान दिनु पर्छ ।