काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले बदलिँदो समय र परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न सकेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई आत्मसात् गर्दै कांग्रेस समयानुकूल परिवर्तनको दिशामा अघि बढेको बताए।
उनले संविधान जारी भएसँगै नेपालमा लोकतन्त्रको एउटा महत्त्वपूर्ण चरण पूरा भएको उल्लेख गर्दै अब पुराना राजनीतिक दलले आफूलाई रूपान्तरण गर्नुपर्ने वा नयाँ वैकल्पिक शक्ति निर्माण हुनुपर्ने धारणा राखे। डा. भट्टराईले आफूले करिब १२ वर्षअघि नै पुराना राजनीतिक दलको रूपान्तरण आवश्यक रहेको विषय उठाउँदै आएको स्मरण गरे। अहिले कांग्रेसले पनि रूपान्तरणको नारालाई अघि बढाएकामा उनले खुसी व्यक्त गरे।
“पुराना पार्टी रूपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रूपान्तरणकारीहरू मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा (माओवादी) मा हुँदै मैले भनेको थिएँ,” उनले भने, “१२ वर्षपछि यो सिद्ध हुँदै गएकोमा खुसी व्यक्त गर्दछु।” विश्वमा तीव्र गतिमा भइरहेको विकास र परिवर्तनका बीच नेपालका राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित हुन नहुने उनको भनाइ थियो। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर नयाँ कुरा सिक्नुपर्नेमा जोड दिए। “नयाँ सिक्न नजान्ने मान्छे एक प्रकारले निरक्षर हुन्,” डा. भट्टराईले भने, “हामी सबै दलले आगामी २० वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौँ। जसको योजना राम्रो हुन्छ, त्यसको योजना कार्यान्वयन गरौँ।”
नेपालका विद्यमान चुनौतीको सामना गर्न नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले आफूहरू शान्ति प्रक्रियामा आउँदै गर्दाको एउटा प्रसङ्गसमेत स्मरण गरे। त्यतिबेला एक विदेशी पत्रकारले भविष्यको नेपाली नेतृत्वबारे सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रूपमा चित्रण गरेको स्मरण गर्दै डा. भट्टराईले कांग्रेसले देशका आगामी चुनौती सामना गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

































