विजयपुर । सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेको कोशी प्रदेशमा हिमालय पर्यटनको सम्भावना उच्च भए पनि पूर्वाधार, दक्ष जनशक्ति र नीतिगत समस्याका कारण अपेक्षित लाभ लिन नसकिएको सरोकारवालाले बताएका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा आइतबार सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना तथा पर्यटन कार्यालय धरान र इस्ट टुरिजम फाउन्डेसनको सहकार्यमा आयोजित ‘पर्यटनका लागि हिमाल–तराई सम्बन्ध’ विषयक अन्तर्क्रियामा वक्ताहरूले हिमालय पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिए ।
पर्यटन विज्ञ अर्जुन उप्रेतीले कोशीमा कञ्चनजङ्गा, मकालु, लोत्से–चोयुलगायतका हिमाल रहे पनि आवश्यक पूर्वाधार र प्रभावकारी सरकारी नीतिको अभाव रहेको बताए । उनका अनुसार नेपाल सरकारले थप पहिचान भएका छ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव लैजाने तयारी गरेको छ । प्रस्ताव स्वीकृत भए कोशीमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या ११ पुग्नेछ ।
कोशीमा छ हजार मिटरभन्दा अग्ला दुई सयभन्दा बढी नामकरण हुन बाँकी हिमालसमेत रहेको उप्रेतीले बताए । हिमाली क्षेत्रका स्थानीय तथा अर्गानिक खानाका परिकार, मौलिक संस्कृति, जैविक विविधता तथा सिमसार क्षेत्रलाई पर्यटनसँग जोड्न सकिने उनको भनाइ छ । उनले स्थानीयस्तरमै ट्रेकिङ तथा क्लाइम्बिङ गाइड उत्पादन गर्नुपर्ने बताए । पाताल डाँडा र पिके डाँडालगायत क्षेत्रमा दुईदेखि चार दिनका छोटा पर्यटकीय प्याकेज सञ्चालन गर्न सकिने तथा सिमसार क्षेत्रलाई चरा अवलोकन पर्यटनसँग जोड्न सकिने उप्रेतीले बताए ।
सगरमाथा आरोही शिव डाँगीले विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई समेत हिमाली क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए । उनले भने, “कोशी प्रदेशमा हिमाल र पानी बेच्न सके पुग्छ ।” स्वदेशी पर्यटकलाई बेसक्याम्पसम्म पुर्याउन सके उनीहरूबाटै पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने उनको भनाइ छ । उनले भने, “बेसक्याम्प जाऔं, स्वस्थ बनौँ । स्लोगन बनाऔँ । स्वदेशी पर्यटकलाई आकर्षण गरौँ ।” पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण साहले विगतमा धरान हिमाली पर्यटनको ‘गेटवे’ रहे पनि पछिल्लो समय पर्यटन व्यवसायीको गतिविधि र सरकारी पूर्वाधार विकास कमजोर भएको बताए । उनले विराटनगर, धरान र इटहरीलाई पर्वतीय पर्यटनका मुख्य हबका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले छ हजारदेखि सात हजार मिटर अग्ला हिमालको आरोहण अनुमति प्रदेश सरकारले पाउने कानुनी व्यवस्था गर्न सके पर्यटन विकासमा सहयोग पुग्ने बताए । उप्रेतीले कोशीको पर्वतीय पर्यटन अझै काठमाडौंमा निर्भर रहेको बताए । विराटनगर, धरान र इटहरीमा पर्वतारोहण तथा पदयात्राका आवश्यक सामग्री बिक्री गर्ने पर्याप्त पसलसमेत नभएको उनको भनाइ छ । मकालु, शिवधारा र दोबाटेलगायत क्षेत्रमा होटल तथा आतिथ्य पूर्वाधार पनि कमजोर रहेको उनले बताए ।
पर्यटन कार्यालय धरानका प्रमुख भीषण राईले कोशी प्रदेशले हिमालको रोयल्टीबाट करिब १७ करोड रुपैयाँ वार्षिक आम्दानी हुने जानकारी दिए । उनका अनुसार हिमालको रोयल्टी सङ्घीय सरकारले उठाउने र त्यसको १५–२५ प्रतिशत प्रदेश र सम्बन्धित स्थानीय तहले प्राप्त गर्ने संवैधानिक व्यवस्था छ । सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामस्वरूप शर्माले धरानमा धार्मिक पर्यटनको समेत महत्वपूर्ण सम्भावना रहेको बताए ।

































