हङकङ । हङकङ साहित्यिक साझा शृङ्खलाको १६० औँ संस्करणमा धरानका पत्रकार एवम् लेखक भोजराज श्रेष्ठको “सुनसरीको मिडिया परिदृश्य”को चर्चा गरिएको छ ।
आख्यानकार एवम् लेखक राजकुमार राईका अनुसार दोस्रो विश्वयुद्धसँग जोडिएको ऐतिहासिक स्थल हङकङ फ्यालिङस्थित ब्रिटिस गोर्खा सैनिक क्याम्प बर्मा क्विन्स हिल गोर्खा मन्दिरमा सम्पन्न गरिएको छ । उनका अनुसार पुस्तकका विषयमा सुनसरीको पत्रकारिताको इतिहासको सविस्तार चर्चा गरिएको पुस्तकमा नेपालको पत्रकारितासँगै विश्वको पत्रकारिता पनि जोडिएको पुस्तक पठनीय रहेको छ ।

आख्यानकार एवम् लेखक राईले पुस्तकका विषयमा चर्चा गरेका थिए । गोर्खाहरुले दशैँको नवदुर्गा पूजा गर्न क्विन्स हिलमा ६ वटा कोण र पाँच वटा ढोका भएको गोर्खा मन्दिर स्थापना गरेका छन् । सोही क्षेत्रमा कार्यक्रम गरी मनाइएको छ । उक्त स्थान ऐतिहासिक रुपमा हेर्ने हो भने बर्माको भीषण युद्धको स्मृतिमा ब्रिटिस गोर्खा क्याम्प बर्मा लाइन भनी रहन गएको आख्यानकार राईले जानकारी दिए ।

गोर्खा मन्दिरको इतिहासको बारेमा कृष्ण लावती, दाजु गुरुङले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रममा जुनु राना, जानु काम्बाङ लिम्बू, बालिका बान्तवा, सिला धमाल, पूर्णिमा जी शाह, रोशन यक्सो, बज्रकुमार थुलुङ राईले कविता वाचन गरे । संस्थाकी संयोजक जुनु रानाको सभापतित्वमा भएको कार्यक्रममा सहसंयोजक रोशन यक्सोले सञ्चालन गरेका थिए । हङकङमा हरेक महिना साहित्यसम्बन्धी साझा शृङ्खला आयोजना गर्दै आएको छ ।































