हङकङ । हङकङमा बसोबास गर्दै आएका किरात राई समुदायले आफ्नो मौलिक सांस्कृतिक परम्परा अनुसार न्वागी पितृ पूजा सम्पन्न गरेका छन्।
किरात राई यायोक्खा हङकङको आयोजनामा आइतबार हङकङको युङलङस्थित सान तिन, किलुन चुनमा रहेको सुप्तुलुङ खिम (चुला घर) मा सामूहिक रूपमा पितृ पूजा गरिएको हो। यायोक्खासँग आबद्ध चाम्लिङ, बान्तावा, साम्पाङ, पुमा लगायत आठवटा भाषिक समुदायले सामूहिक रूपमा न्वागी पूजा सम्पन्न गरेका थिए . किरात राई समुदायको महत्त्वपूर्ण सांस्कृतिक चाडका रूपमा रहेको न्वागी पूजामा नयाँ अन्न बाली खानुअघि कुलपितृ तथा प्रकृतिलाई चढाएर मात्र खाने परम्परा रहँदै आएको छ।
किराती संस्कार अनुसार नाक्छोङद्वय नारायण प्रसाद राई र मैत्र कुमार राईले पितृपूजा गरेका थिए । कार्यक्रममा यायोक्खा हङकङका संरक्षकहरू सशी मदन राई, हेजेन राई, रजिन राई, हरि चन्द्र राई र माया थुलुङ राईको उपस्थिति रहेको थियो। यस्तै, सल्लाहकार दिलिप राईलगायत विभिन्न भाषिक संघसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै किरात राई यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राईले प्रवासमा रहे पनि आफ्नो मौलिक संस्कार र संस्कृतिलाई जोगाउँदै पुस्तान्तरण गर्दै लाने उद्देश्यले यस्ता कार्यक्रम गर्दै आएको बताए। यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सकेमात्र हाम्रो मौलिक संस्कार र संस्कृतिको संरक्षण हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपालमा भर्खरै गएको बाढीपहिरोबाट पीडितहरूको लागि यायोक्खाले राहत रकम संकलन गरिरहेको जानकारी दिँदै सक्दो सहयोग गर्न सम्पूर्णमा अपिल समेत गरिएको थियो ।
































