विजयपुर । विद्यार्थीहरूले शिक्षक माग गर्दै धर्ना दिइरहेको घटनामा धरान उपमहानगरपालिकाले सम्बन्धित दुई सामुदायिक विद्यालयलाई रिक्त शिक्षक पदपूर्ति गर्न पत्राचार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले गरेको पत्राचार प्रचलित शिक्षा नियमावलीविपरीत रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राईद्वारा हस्ताक्षरित पत्रमा धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय र धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि तीनदिने सूचना प्रकाशित गरी नियुक्ति प्रक्रिया अघि बढाउन भनिएको छ । “माध्यमिक तह सामाजिक विषयको रिक्त दरबन्दीमा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक नआउन्जेलसम्मका लागि आवेदन फारामका लागि आजकै मितिबाट तीनदिने सूचना गरी शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउनू” पत्रमा भनिएको छ । शिक्षा नियमावलीअनुसार करारमा शिक्षक नियुक्ति गर्दा कम्तीमा १५ दिने विज्ञापन (सूचना) गर्नुपर्ने व्यवस्था रहेको छ । शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) को नियम ९७ मा १५ दिने विज्ञापन गर्नुपर्ने व्यवस्था रहेको छ । तीनदिने सूचना प्रकाशित गर्न भनिएको उक्त पत्र प्रचलित नियमावली विपरीत छ ।
त्यस्तै ज्ञानोदय मा.वि.मा रिक्त रहेको माध्यमिक तह द्वितीय श्रेणीसरह (अनुदान) नेपाली विषयको दरबन्दीमा तुरुन्त शिक्षक नियुक्त गर्न भनिएको छ । मा.वि. तृतीय श्रेणी विज्ञान विषयकी शिक्षिका शान्ति याख्खाको प्रसूति बिदा अवधिका लागि पनि तीनदिने सूचना प्रकाशित गरी माध्यमिक तहको एक ग्रेड बराबरको तलब–भत्ता उपमहानगरपालिकाबाट उपलब्ध हुने गरी शिक्षक नियुक्त गर्न पत्राचार गरिएको छ । यस्तै, ज्ञानोदय र सरस्वती मा.वि.मा शिक्षक छनोट समितिमा एक जना मात्र विज्ञ राख्ने गरी पत्राचार गरिएको छ । नियमावलीअनुसार छनोट समितिमा दुई जना विज्ञ राख्नुपर्ने प्रावधान रहेको छ ।
शिक्षक छनोटमा मूल्याङ्कनका आधारसमेत शिक्षा नियमावलीअनुसार तय गर्नुपर्ने व्यवस्था भए पनि प्रमुख प्रशासकीय अधिकृत राईले आफ्नै पत्रमार्फत मूल्याङ्कनका आधार तोकेका छन् । यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत राईलाई पटक–पटक फोन सम्पर्क गर्दा फोन उठाएनन् । धरान उपमहानगरका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले आन्दोलनको मागअनुसार तत्काल आवश्यकता परिपूर्तिका लागि तीन दिनको अवधि राखिएको बताए । उनले भने, “विद्यार्थीको तत्काल शिक्षक चाहियो भन्ने माग छ । १५ दिने प्रक्रियामा जाँदा असोज महिना सकिने भएकाले तीन दिन राखिएको हो ।” उनका अनुसार शिक्षक प्रसूति कोषबाट व्यवस्थापन गर्न लागिएको हो । उनले भने, “विद्यार्थीको माग तत्काल चाहियो भन्ने रहेकाले कहिलेकाहीँ नीति नियमभन्दा माथि उठ्नुपर्ने रहेछ ।” शिक्षक प्रसूति कोषको प्रक्रियाअनुसार नै सरस्वती मा.वि.को शिक्षक पनि व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ ।
विद्यार्थी अझै अनशनमा
उपमहानगरपालिकाले विद्यालयमा शिक्षक व्यवस्थापनका लागि पत्राचार गरे पनि विद्यार्थीले अनशन तोडेका छैनन् । ज्ञानोदय र सरस्वती मा.वि.का विद्यार्थीहरू अनशन बसिरहेका छन् । नगरबाट कोही पनि समन्वयमा नआएको विद्यार्थीहरूको भनाइ छ । बाल सञ्जालका अध्यक्ष रोशन शङ्करले शिक्षक व्यवस्थापनसँगै दुई शिक्षकलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
उनका अनुसार ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक अमर चेम्जोङ र विष्णु पुमा राईलाई कारबाही गर्नुपर्ने विद्यार्थीको माग छ । शङ्करका अनुसार ती दुई शिक्षकले नियमित अध्यापन नगराई पेनड्राइभमार्फत भिडियो देखाउने गरेको विद्यार्थीको आरोप छ । उनले विद्यार्थीलाई उद्धृत गर्दै भने, “दुई शिक्षकले पेनड्राइभबाट भिडियो देखाइदिने अनि नपढाउने गरेका रहेछन् । उनीहरूलाई कारबाही हुनुपर्ने हाम्रो माग हो ।” यस विषयमा शिक्षक विष्णु पुमा राई र अमर चेम्जोङलाई प्रतिक्रियाका लागि फोन गर्दा सम्पर्क हुन सकेन । शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउन उपमहानगरपालिकाले विद्यालयलाई पत्राचार गरेको विषयमा आफूहरूलाई जानकारी नभएको पनि शङ्करले बताए ।
शिक्षा महाशाखा प्रमुख खड्काले शिक्षकले भिडियो मात्र देखाउने र अध्यापन नगराउने विषयमा जानकारी आएकाले सोमबार स्थलगत रूपमा निरीक्षण गरेर छानबिन गरी दोषी भेटिएमा कारबाही गर्ने बताए । उनले भने, “कहिलेकाहीँ भर्चुअलमार्फत अध्यापन गर्नु त ठिकै हो । तर सधैँ भर्चुअल नै हुन्छ भने गलत हो । त्यस्तो भेटिएमा कारबाही हुन्छ ।”
































