विजयपुर । धरानमा ‘सुम्निमा रन २०८३’ सम्पन्न भएको छ ।

शनिबार स्वास्थ्य, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको भेट्रान पुरुषतर्फ रेशम लिम्बू २२ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै प्रथम बने । विमनसिंह तामाङ द्वितीय र विजय राई तृतीय बनेका छन् ।

यसैगरी भेट्रान महिलातर्फ जमुना लिम्बू बिजेता बनिन् । जमुना राई दोस्रो बनिन् भने कुसुम लिम्बू तेस्रो बनिन् । ओपन क्याटगोरी पुरुषतर्फ अमिर लिम्बू, फुर्वा लिम्बू, पुरुलाक्पा शेर्पा क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए । ओपन क्याटगोरी महिलातर्फ जुलिन राई बिजेता घोषित भइन् भने दीक्षा राई द्वितीय र लक्ष्मी राई तृतीय बनिन् ।

यस्तै, सुपर भेट्रान अर्थात् ६० वर्ष उमेर माथितर्फ रकमसिंह राई बिजेता बने । अन्डर १६ तर्फ पुरुषोत्तम राजधामी पहिलो, अविशेक परियार दोस्रो र रिजम राई तेस्रो बने । उनीहरूलाई खादा ओढाएर सम्मान गरियो । संस्कृति झल्किने लिम्बू पोशाक लगाएर दौडमा सहभागी बनेकी दिव्या लिम्बू सुब्बालाई खादा लगाएर सम्मान गरिएको थियो ।

सुम्निमा रनका लागि दर्ता शुल्क ५ सय तोकिएको थियो । ४ किलोमिटर दुरी रहेको रनमा विभिन्न उमेर समूहमा विभाजन गरिएको थियो । जसमा १७ वर्षदेखि ३९ वर्ष समूहलाई खुल्ला समूहमा राखिएको थियो भने ४० वर्षदेखि ५९ वर्षसम्मलाई भेट्रान र ६० वर्षदेखि माथि उमेर समूहकालाई सुपर भेट्रान समूहमा राखिएको थियो ।

दौडमा खुल्ला समूहका महिला, पुरुष प्रथम हुनेले जनही १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले जनही नगद १० हजार र ७ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी प्रतियोगितामा भेट्रानतर्फ महिला, पुरुष प्रथम हुनेले जनही नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो र तेस्रो हुनेले जनही ७ हजार ५ सय र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइयो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद हर्कराज राई (साम्पाङ), चर्चित गायक राजेशपायल राई, सांसद पूर्ण लिम्बू, अम्बिकादेवी सङ्ग्रौलाल लगायतले बिजेता धावक-धाविकालाई पुरस्कार प्रदान गरे । कार्यक्रममा ‘हाम्रो धर्ती हाम्रो आकाश’ बोलको गीतमा प्रतियोगिता गराउनुका साथै ५ हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

धरान–१३ स्थित जानकी चोक उत्तरतर्फ रहेको सर्दुखोलाको पुलबाट शुरु भएको दौड सुम्निमा पारुहाङ निर्माणस्थल चिण्डेडाँडामा पुगेर समापन भएको थियो । २६ सय ८३ जनाले फारम भरेको र उनीहरू सबैलाई टिसर्ट प्रदान गरिएको थियो भने अन्य टिसर्टबिनै पनि दौडिएका थिए ।

सांसद साम्पाङले पशुपतिनाथ, बौद्ध, लुम्बिनीजस्तै विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्य रहेको बताए । गायक राईले धरान आफ्नो कर्मथलो भएकोले प्रतिमा निर्माणका लागि ३ दिन श्रमदानमा आउने बताए ।

मानव सभ्यताको सृष्टिकर्ता एवं किरातीहरूको आदिम पुर्खा सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि अहिले चिण्डेडाँडामा धमाधम निर्माण कार्य भइरहेको छ । सुम्निमा–पारुहाङ प्रतिमा निर्माणका लागि प्रतिष्ठानले गत वर्ष सांगीतिक साँझको आयोजना गरेको थियो भने यस वर्ष सुम्निमा रनको आयोजना गर्न लागिएको हो ।