काठमाडौं—सरकारले मंगलबार नेतृत्वबिहीन रहेका २१ देशका नेपाली राजदूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । राजदूत नियुक्तिका लागि सिफारिस गरिएका २१ देशका राजदूतावासमध्ये ओसियानाको समृद्ध देश अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावास समेत छ ।

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेकी लक्की शेर्पा एकीकृत माओवादीकी केन्द्रीय सदस्य हुन् । संखुवासभा पुर्खौली घर भएकी शेर्पाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

उनले सन् २००१ मा पाटन संयुक्त क्यापस टप गर्दै अर्थशास्त्रमा मास्टर्स डिग्री हासिल गरेकी थिइन । ‘ग्रीन इकोनोमी’मा पिएचडीको तयारीमा रहेकी शेर्पाले नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक पूरा गरेकी हुन् ।

आनन्दकुटीबाट फष्ट डिभिजनमा एसएलसी गरेकी शेर्पाको जन्म भने वि.सं. २०३१ सालमा सुनसरीमा भएको हो । ‘त्यतिबेला वुवा धनकुटामा त्रिविको क्याम्पसमा पढाउनुहुन्थ्यो,’ शेर्पाले नेपालीपत्रसँग भनिन्, ‘तर, म सुनसरीमा जन्मे ।’

लक्कीका वुवा श्यामसुन्दर शेर्पाको पछि काठमाडौंमा सरुवा भयो । त्यसपछि लक्कीको बाल्यकाल र शिक्षा दिक्षा काठमाडौंमै भएको हो ।

यसअघि समाजकल्याण परिषद्को सदस्य र एमालेको तर्फबाट पहिलो संविधानसभामा सभासद समेत रहिसकेकी शेर्पा दोस्रो संविधानसभा चुनावसँगै एमाओवादी निकट रहेर राजनीतिमा सक्रिय छिन् ।


नयाँ बानेश्वरकी स्थायी बासिन्दा रहेकी शेर्पाले हावर्ड विश्वविद्यालयमा लिडरसीप फेलोका रुपमा अनुभव संगालेकी छिन् । उनी माओवादीको वातावरण विभाग इन्चार्ज समेत हुन् ।

शेर्पाले आफू अस्ट्रेलियाका लागि नेपाली राजदूत बनेका केही नयाँ काम गर्ने सोचमा रहेको बताइन । ‘म केही गर्नुपर्छ भन्नेमा छु,’ उनले भनिन्, ‘म राजदूत भएमा अरुभन्दा केही फरक गरेर देखाउनेछु ।’