धरान–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति कमाएको अभियोगमा पक्राउ गरेका पत्रकार कनकमणि दिक्षीत अस्पताल भर्ना भएका छन् ।अस्पताल भर्ना भएपछि उनी प्रकाशक रहेको हिमाल खबर पत्रिकाले यसरी समाचार लेखेको छ ।– उच्च रक्तचापका विरामी दीक्षितको छाती र मुटुमा समेत समस्या देखिएपछि वीर अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच गरी उपचारका लागि आइसीयू (सघन उपचार कक्ष)मा भर्ना गरेका हुन्।
ईसीजी (मुटुसम्बन्धी जाँच) र छातीको जाँचमा समेत अवस्था असामान्य देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार गर्नु परेको अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितले जानकारी दिए ।
“लोकमानलाई धन्यवाद छ, उनले मलाई पक्राउ नगरेको भए मेरो मुटुमा समस्या भएको पनि थाहा हुने थिएन,“ मुटुको परीक्षणमा समस्या रहेको थाहा पाएपछि दीक्षितले भनेको उनलाई भेटेकी शान्ता दीक्षितले भनिन् ।
कडा सुरक्षा पहरामा राखिएका दीक्षितलाई अस्पतालमा उनकी पत्नी शान्ताबाहेक अरु कसैसँग पनि भेट्न दिइएको छैन ।
दीक्षितलाई वीर अस्पतालको पुरानो आइसीयुमा राखिएको छ जहाँ नजिकै आफ्नो छोराका हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयसम्म अनशनरत गंगामाया अधिकारी छन् । गंगामायाका पति नन्दप्रसाद त्यही आइसीयूमा अनशनरत रहेकै बेला न्याय नपाएर विते । अधिकारी दम्पतीलाई न्याय दिलाउनका लागि कनकमणि दीक्षित लामो समयदेखि संघर्षरत छन् ।
हिजै अख्तियारले नियन्त्रणमा लिएपछि वीरअस्पतालमा जाँच गराउँदा उच्च रक्तचाप देखिएका दीक्षितलाई अख्तियारले आफ्नो हिरासत कक्षमा नराखी महानगरीय प्रहरी वृत्त, गौशालामा अन्य कैदीहरुसँगै एउटा कोठामा कोचेर राखेको थियो ।