धरान–अमेरिकामा आत्महत्या गर्नेको संख्या बढेको छ । अमेरिकामा आत्महत्या गर्नेको संख्या ३० वर्ष यताकै उच्च पुगेको एक अध्ययनले देखाएको छ । आत्महत्या गर्नेमा अधबैँसे अमेरिकीको संख्या बढीछ ।
अमेरिकाको रोग नियन्त्रण तथा सावधानी केन्द्र सिडिसीले गरेका अध्ययनमा आत्महत्या गर्नेको संख्या सन् १९८६ यताकै उच्चरहेको देखिएको हो । तर केन्द्रले आत्महत्या गर्नेको संख्या बढ्नुको कारण भने खुलाइएको छैन । प्रत्येक एक लाख अमेरिकीमा १३ जनाले आत्महत्या गर्ने गरेको सिडिसीको प्रतिवेदनमा उल्लेख छ । यो सन् १९८६ यताकै उच्च हो ।
आत्महत्या गर्नेमा गोरा समुदायका अमेरिकी बढी छन् । सन् १९९९ देखि २०१४ सम्ममा आत्महत्याको दर २४ प्रतिशतले बढेको छ । तर यो वृद्धिदर गोरा अमेरिकीमा बढी छ ।
४५ देखि ६४ वर्षसम्मका गोरा अमेरिकी पुरुषमा आत्महत्याको दर ४३ प्रतिशतले बढेको छ भने त्यही उमेर समूहका गोला महिलामा आत्महत्याको दर ६३ प्रतिशत छ ।
सन् २०१४ मा १४ हजार भन्दा धेरै अधबैँसे गोरा अमेरिकीले आत्महत्या गरेका थिए । तर काला जातीका अमेरिकी पुरुषमा भने आत्महत्या गर्ने दर घटेको छ ।
– एजेन्सीको सहयोगमा