पथरी(ब्लाष्ट) वैदेशिक रोजगारमा मलेसियामा कार्यरत् मोरङको केरौन–१ का खामबहादुर भुजेलको मृत्यु भएको छ ।
कामबाट फर्केपछि बेलुकाको खाना खाएर कोठामा सुतेका ४० वर्षीय भुजेलको सुतेकै ठाउँमा मृत्यु भएको हो । बिहान सोही कोठाका नेपाली साथीहरुले उनलाई मृत अवस्थामा ओछ्यानमा भेटेको मृतकको परिवारले जनाएको छ । कोठाका साथीले वैशाख ७ गते बिहान फोनमार्पmत् मृत्युबारे जानकारी दिएको श्रीमती सुनमाया भुजेलले बताइन् ।
उनी सात वर्षअघि आर्थिक आर्जन गर्न मलेसिया पुगेका थिए । लामो समयसम्म मलेसिया बसेका उनी एकपटक पनि घर नआएको उनको परिवारले जनाएको छ । यसपटक आगामी जेठ अन्तिममा घर आउने कुरा भएको परिवारले जनाएको छ । ‘गत चैत २५ गते ६० हजार पठाउनुभएको थियो’, मृतककी श्रीमती सुनमायाले आँखाभरि आँसु पार्दै भनिन्, ‘गएको कम्पनी पनि थाहा छैन ।’ उनलाई पठाउने गाउँले दाजुलाई सोध्दा ‘म जान्दिनँ’ भन्ने जवाफ पाएको उनले जनाइन् । ‘उता पनि आफन्त कोही छैनन्, कसरी नेपाल ल्याउने होला ?’ उनको चिन्ता छ ।