बिर्तामोड / तीन बुँदे सहमतिपछि अखिल नेपाल ट्रेड युनियन महासङ्घको घटक यातायात मजदुर निजी बिद्यालय चालकं सङ्घले सोमबारदेखि आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । सहमतिपछि चालकहरु काममा फर्किएपछि निजी बिद्यालयका सवारीसाधन सञ्चालनमा आएका छन् । आइतबार राति बिर्तामोडस्थित प्याब्सनको कार्यालयमा बसेको वार्तामा चालकको न्युनतम पारिश्रमिक १२ हजार, दशैं खर्च र चालक तथा सहचालकका एकजना बच्चालाई निःशुल्क पढाउने सहमति भएको महासङ्ंघ झापा झापा अध्यक्ष सीता सापकोटाले जानकारी दिइन् ।
तलब बृद्धिको मागप्रति प्याब्सन  तथा एनप्याब्सनले वेवास्ता गरेको भन्दै निजी बिद्यालयका सवारी चालक बैशाख १० गतेदेखि आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण निजी बिद्यालयका सवारी नचल्दा पढाई प्रभाबित बनेको थियो । दुबैपक्षको हठका कारण पटक–पटकको वार्ता बिना निस्कर्ष टुङ्गिएको थियो ।
सहमतिमा खाइपाई आएको १२ हजार भन्दामाथिको पारिश्रमिकको हकमा यथावत रहने सहमति समेत भएको चालक संघका अध्यक्ष पदमलाल तामाङले बताए । दुबैपक्षले हस्ताक्षर गरेको सहमति पत्रमा चारसयसम्म बिद्यार्थी भएको बिद्यालयमा न्युनतम पारिश्रमिक १२ हजार रुपैयाँ रहने उल्लेख छ । त्यस्तै शैक्षिकसत्रमा निजी बिद्यालयले शुल्कबृद्धि गरेसँगै चालकहरुको पारिश्रमिक पनि बढाउने सहमति भएको बुझिएको छ । न्युनतम तलब नदिएका बिद्यालयले दशैंखर्च वापत २५ प्रतिशतले तलबबृद्धि गर्ने सहमति भएको छ । वार्तामा प्याब्सनका जिल्ला अध्यक्ष मिलनकुमार ढुङ्गाना, एनप्याब्सनका अध्यक्ष सञ्जिव राई र हिसानका अध्यक्ष प्रेम भट्टराई तथा आन्दोलनरत पक्षबाट महासंघ जिल्ला अध्यक्ष सीता सापकोटा, भूपाल ओली, पदमलाल तामाङ, सन्तबहादुर तामाङ लगायत सहभागी थिए ।