भोजराज श्रेष्ठ,
धरान / भागबण्डा मिलेपछि प्रजातान्त्रिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले झण्डै १४ महिनापछि क्याम्पस प्रमुखको मूख्यगेटमा लगाइएको ताला खुलाएका छन् ।
करार प्राध्यापकको विषयलाई लिएर २०७१ फागुन २० गते लगाइएको ताला १३ महिना २६ दिनपछि खुलाएको हो । तालाबन्दी खुलेसँगै क्याम्पस प्रमुखको काम कारबाही सहज भएको छ । भोजपुर क्याम्पसबाट सरुवा भई आएका सह प्राध्यापक कुलबहादुर परियारको विषयलाई लिएर ज्ञापन पत्रसँगै क्याम्पस प्रमुख चन्द्रकुमार राईको कार्याकक्षमा तालाबन्दी गरेका थिए । लगत्तै फागुन २२ गते मूख्य चेनगेटमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
त्रिवि प्राध्यापक तथा कर्मचारी दरबन्दी अध्ययन तथा निर्धारण समितिका संयोजक प्रा.डा. हरिप्रसाद पराजुली, सदस्यहरु राजेन्द्रकुमार पौडेल, विष्णुकुमार मादेन र केशवराज शर्माको रोहबरमा बुधबार क्याम्पसमा बसेको छलफलले ५ बुदे सहमति गर्दै तालाबन्दी खोलेका हुन् । बुँदा नम्बर ३ मा क्याम्पसमा रहेका शैक्षित था प्रशासनिक पदहरु मध्ये सहायक क्याम्पस प्रमुख शिक्षाशास्त्र, विद्यार्थी कल्यण प्रमुख, स्नात्तकोत्तर कार्यक्रम प्रमुख, विविए कार्यक्रमको डिपुटी डाइरेक्टर पद प्रजातन्त्रवादीले दाबी गरेका छन् ।
हाल कतिपय पदहरुमा उनीहरुकै हालीमुहाली थियो । यि पदका लागि १४ महिनासम्म क्याम्पसलाई बन्धक बनाउने कार्य गरेको त्रिविबाट आएका प्राध्यापकहरुलेसमेत महसुस गरेका छन् । ‘करारको माग राखेर गरेको तालाबन्दीको कुनै औचित्य देखिएन ।’ सदस्य राजेन्द्रकुमार पौडेले फोनमा भने ‘भागबण्डा कै खेल हो कि भन्ने देखियो ।’ उनले थपे ‘किनकी त्रिविको स्पष्ट नीति के छ भने करार जहाँ कार्यरत छ स्थायी हुँदा पनि त्यही नै काम गर्न पाउने भन्ने छ ।’
क्याम्पस प्रमुख चन्द्रकुमार राईले पाँच बुदे सहमतिपछि तालाबन्दी खुलेको बताए । उनले मंगलबार पनि सामान्य रुपमा छलफल भएको र बुधबार अध्ययन समितिको रहोबरमा बसेपछि लिखित रुपमा सहमति बनेको उनले बताए । क्याम्पस प्रमुख राईले पाँचौं नम्बर बुँदामा सुरुमा अब्जेक्सन जनाएका थिए । पाँचौं नम्बर बुँदामा क्याम्पसमा आवश्यकता अनुसार प्राध्यापक वा कर्मचारीहरु सरुवा गरी ल्याउनु पर्दा वा अन्यत्र जान अनुमति दिँदा सबै पक्षको पारस्पिरिक सहमति अनुसार गर्ने तर, त्रिविबाट विना सहमति सरुवा भई आउने÷जानेको हकमा सबै पक्ष बिच छलफल गरी समाधान खोज्ने भन्ने थियो ।
‘खासमा कर्मचारी आउने जाने क्रम जारी हुन्छ मैले कसरी रोक्न सक्छु भनेर भनेको हुँ ।’ उनले भने ‘त्यसपछि हाकिमहरुले नै चिन्ता नलिनु भनेपछि सामान्य ढंगले लिए ।’ उनले अहिले प्रजातन्त्रवादी पक्षहरुले पाएको पदहरु यस अघि पनि पाइरहेकै भएकाले थप नयाँ कुरा केही नभएको बताए । यता प्रजातन्त्रवादीका अध्यक्ष गंगाप्रसाद चौलागाईले करारको हकमा जुन कुरा राखेर आन्दोलन थालिएको थियो त्यसमा एक खाल्को लिखित भएपछि तालबन्दी खुलाएको बताए । ‘करार प्राध्यापकहरु यही स्थापित हुने ग्यारेन्टी भएपछि ताला खुलेको हो ।’ उनले भने ‘त्यसमा माथिल्लो निकायबाट मौखिक सहमति भएको छ । लिखित रुपमा क्याम्पसबाट भएको छ ।’ भागबण्डाको विषयमा जिज्ञासा राख्दा उनले सहमति र सहकार्य गरेरै भागबण्डा मिल्ने भएकाले प्रक्रिया अनुसार गएको बताए । १४ महिनासम्म तालाबन्दी भएको विषयमा निर्धारण समितिकोसमेत ध्यानाकर्षण भएपछि क्याम्पस र असन्तुष्ट पक्षधरहरुलाई राखेर सहमति गराइएको सदस्य पौडेलले बताए ।