धनबहादुर पुरी,
तरहरा/ लामो समयसम्म भएको नाकाबन्दी र मधेश आन्दोलनका बेला 20110616113326senpiilegal140611-1 साना हतियार भित्रिएको हुन सक्ने भन्दै प्रहरीले खोज्न अभियान थालेको छ । खुल्ला सिमानाका कारण मधेश आन्दोलनका बेला हतियार भित्रिएको हुनसक्ने भएकाले अभियान थालेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले समय–समयमा साना हतियारहरु बरामद गरे पनि यसको ओसार–पसार नियन्त्रण गर्न सकेको छैन । नेपाल प्रहरीको भनाइलाई नै आधार मान्ने हो भने पनि अधिकांश आपराधिक घटनामा साना हातहतियारको प्रयोग हुने गरेका छन् । खुल्ला सिमानाकै कारण पेस्तोल, कटुवा, भरुवा बन्दुकलगायतका साना हतियार नियन्त्रणमा चुनौती रहेको क्षेत्रीय प्रहरी कार्यालयको स्वीकारोक्ति छ ।
केही दिनअघि सिरहामा त्रिशुलधारी बाबाजीको भेष धारण गरेका एक व्यक्तिबाट दुई थान कटुवा पेस्तोल बरामद भएपछि साना हतियारको कारोबार भइरहेको अनुमान गर्दै सतर्कता अपनाएको पूर्व क्षेत्रका डीआईजी केशरीराज घिमिरेले बताए । मधेश आन्दोलन र नाकाबन्दीका बेला हतियार भित्रिएको अनुमान गरी अपराध अनुसन्धान टोलीलाई नियन्त्रण अभियानमा लाग्न निर्देशन दिइसकेको डीआईजी घिमिरेले जनाए ।
सिरहामा हर्कटी–१ का ५६ वर्षीय भुटाइ सदाय (दास) र मोटरसाइकल चालक सोही गाविस–५ का ४५ वर्षीय हरिगोविन्द यादवका साथबाट दुई थान कटुवा पेस्तोल र घरमा लुकाइराखेको एक थान पेस्तोल बरामद गर्नु प्रहरीको उपलब्धि भएको उनको जिकीर छ । उनीहरुले ८ वर्षदेखि साना हतियारको कारोबार गरिरहेको प्रारम्भिक अनुन्धानबाट देखिएको उनले सुनाए । पूर्वमा साना हतियारहरुको चुनौती रहेको उनले बताए । चालू आर्थिक वर्षको चैत मसान्तसम्म पूर्वमा ५० वटा हतियार प्रहरीले बरामद गरेको छ । तीमध्ये ९ पेस्तोल, १६ कटुवा र २५ वटा भरुवा बन्दुक छन् ।
प्रहरीले हतियारसहित ६३ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको क्षेत्रीय प्रहरीका प्रवक्ता इन्स्पेक्टर गंगाप्रसाद पौडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०७१/२०७२ मा ९ पेस्तोलसहित ६० वटा हतियार बरामद गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७०/२०७१ मा २४ पेस्तोलसहित ६६ वटा हतियार बरामद गरिएको प्रवक्ता पौडेलले जनाए ।