काठमाडौँ / नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।
आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् । रासस