काठमाडौँ / विश्वका २८ मुलुकका बुद्धिजिवी र भिक्षुहरु सहभागी भएको अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनमा सहभागीहरुले नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् । लुम्बिनीमा २५६० औं बुद्ध जयन्तीको अवसर पारेर सरकारले काठमाडौंमा ६ र ७ गते बौद्ध सम्मेलन आयोजना गरेको थियो । समारोहमा झण्डै ५० हजार स्वदेशी विदेशी पाहुनाहरु सहभागी थिए ।
लुम्बिनीको समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि थिइन भने प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थिति थियो । बौद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३ सय ८५ जना विद्वान तथा भिक्षुहरुको सहभागिता थियो ।
सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिया, साउथ कोरिया, श्रीलंका, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, टर्की, युके, अमेरिका, भेइतनामका भिक्षुहरु सहभागी थिए ।
सम्मेलनमा भारतबाट ९ जनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट ९ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट ७ जना सम्मेलनमा भाग लिन आएका थिए ।
केके पारित भयो बौद्ध सम्मेलनमा ?
- नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो ।
- बुद्ध धर्म एशियाको मात्र ज्योती होइन, समग्र विश्वकै ज्योती हो, विश्व शान्तीको प्रस्थान बिन्दु नेपाल हो ।
- यसैगरी बुद्धको शरिरलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा प्रचार प्रसार गरिने ।
- लुम्बिनी विकासको मास्टर प्लान बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने ।
- लुम्बिनी विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउने ।
- बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्यूवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने ।
- विश्वभर शान्ती र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकार लगायतका काम गर्न ग्लोबल बुद्धिष्ट फोरम बनाउने ।