विजयपुर /यातायात व्यवस्था कार्यालय कोशीको लाइसेन्स वितरण शाखाले पहाडी जिल्लाहरुलाई लक्षित गरी धनकुटाको हिलेमा लाइसेन्सको फारम वितरण तथा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।सडक सुविधा पुगेसँगै पहाडी जिल्लाहरुमा मोटरसाइकल चढ्नेको सङ्ख्या बढेकाले हिलेलाई केन्द्र मानेर फारम वितरण तथा परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवस्था कार्यालयका लाइसेन्स वितरण शाखा प्रमुख श्याम सिंहले जानकारी दिए ।
[caption id="attachment_15985" align="aligncenter" width="831"] तस्विर गुगलबाट[/caption]पहाडी जिल्लाबाट लाइसेन्स लिने प्रक्रियाका लागि इटहरी आउँदा सेवाग्राहीले ठूलो समस्या भोग्नुपरेकोले सेवा बिस्तार गर्ने तयारी भएको सिंहले जानकारी दिए । ‘अहिले लाइसेन्सको फारम भर्न आउँदा सेवाग्राहीको झण्डै पाँच हजार खर्च हुने गरेको छ’, सिंहले भने, ‘लाईसेन्सको फारम भर्न २ सय रुपैयाँ राजश्व लाग्छ ।’सेवा बिस्तार भएपछि कोशीका पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, तेह्रथुम र सङ्खुवासभाका सेवाग्राहीले फारम भर्ने र परीक्षा दिन इटहरीस्थित कार्यालयमा आउनु नपर्ने सिंहले भने । परीक्षामा पास भएर ट्रायल दिनमात्र इटहरी आउँदा हुनेगरी सेवा बिस्तार गर्ने तयारी भएको उनले जनाए ।
फारम सङ्कलन तथा परीक्षा सञ्चालनका लागि ठाउँको खोजी भइरहेको र तिहारपछिबाट सेवा बिस्तार गरिने उनले बताए । गत आर्थिक वर्षमा मात्र लाइसेन्स माग गर्दै १७ हजार ६ सय ८३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६३ सय ५२ वटा लाइसेन्स कार्यालयले जारी गरेको देखिन्छ । कार्यालयले लाइसेन्सका लागि लिइने परीक्षाको नतिजा हेर्न सजिलो होस् भन्ने उद्देश्यले फेसबुक पेजनै बनाएर नतिजा सार्वजनिक गर्ने गरेको छ ।