धरान/ हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवं दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् । भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजा गर्नुका साथै त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने चलन छ ।
साथै सप्तरंगी टिकासँगै आङ्खना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छे अनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौंको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् । यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
भाइटीका लगाउन आज बिहान ११ बजेर ३५ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज दिनै भरि पनि शुभसाइत भएकाले आफूलाई अनुकुल समयमा टिका लगाउन सकिने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
पहिलो दिन कागको पुजा गरी सुरु भएको तिहारमा, दोस्रो दिन कुकुरको, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा आराधना गरिएको थियो भने चौथो दिन गोवर्धन र गोरुको पुजा गरिएको थियो ।