नेपालीहरुको महान पर्व बडा दशैं अस्ति शनिबारदेखि घरघरमा भित्रिएको छ । घटस्थापनाबाट काजाग्रत पूर्णिमासम्म मनाइने दशैंको हरेक दिनको आआफ्नै महत्व र विशेषता छ । दशौंको तेस्रो दिन आज सोमबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ ।
चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको, जगत वैभवशाली भएको, बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भएको धार्मिक विश्वस छ ।
देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।
चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुंदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन् । गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदै छ ।
काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ गह्येश्वरी ,मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र शोभाभगवती, नरदेवी, विजयेश्वरी, इन्द्रायणी,वज्रवाराही, बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिन्छ ।