धरान/ देशभरका स्थानीय विकास अधिकारी (एलडीओ) हरूले यसपालिको दसैंतिहारको बिदामा समेत कार्यालयमा गई नियमित काम गर्नुपर्ने भएको छ । स्थानीय तह पुनःसंरचना कार्य छिटो सक्न सरकारले एलडीओहरूलाई सार्वजनिक बिदामा समेत काम गर्न निर्देशन दिएको आजका सञ्चारमाध्यममा खबर छापिएको छ ।एलडीओहरूलाई सम्बन्धित जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको संयोजक बनाइएको छ ।
हाल सोही समितिको समन्वयमै जिल्ला–जिल्लामा स्थानीय तह पुनःसंरचना कार्य भइरहेको छ । स्थानीय तह निर्धारण कार्य तीव्र गतिमा भए स्थानीय तह पुनःसंरचना आयोगले आगामी कात्तिकभित्र प्रारम्भिक प्रतिवेदन दिने सरकारको अपेक्षा छ । तर, आयोगले भने कात्तिक मसान्तभित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाएको छैन । स्थानीय तह पुनःसंरचना कार्यमा दलहरूबीचको विवाद कायम रहने र सरकारबाट पनि कुनै पनि बेला आफुलाई थप मापदण्ड प्राप्त हुन सक्ने अनुमान गर्दै आयोगले कात्तिकभित्र प्रतिवेदन दिने प्रतिबद्धता जनाउन नसकेको हो ।