[caption id="attachment_18270" align="alignnone" width="1024"]
तस्विर लोकान्तरबाट[/caption]
काठमाण्डौ/सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् ।नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी ओली, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत धेरै पार्टीका नेताको उपस्थिति थियो ।
त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, प्रधान सेनापति राजेन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती जस्ता सबै पेसा र क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रमको मुख्य आकर्षण हास्य कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल (धुर्मुस)को प्रस्तुति थियो ।
उनीहरुमध्ये गजुरेलले प्रधानमन्त्री दाहालको तथा कट्टेलले पूर्वप्रधानमन्त्री ओलीको स्वरुप धारण गरे । उनीहरुले एक–अर्काबीचको छेडछाड र आरोप प्रत्यारोपले सक्कली प्रचण्ड र ओलीलाई भरपूर मनोरञ्जन दिएको प्रतीत हुन्थ्यो ।
सिस्नुपानीसँगको सहकार्यमा प्रज्ञा–प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा व्यङ्य कवि शैलेन्द्र सिंखडाले राष्ट्रिय स्वाभिमानको पक्षमा, गायक शिशिर योगीले भ्रष्टाचारविरुद्ध तथा कमलीकान्त भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबारे व्यङ्ग्य प्रहार गरेका थिए ।
उनीहरुले कार्कीमाथि यसरी सिस्नुपानी लगाएका थिए:
हामी त्यसै आएनौँ, अदालतले खटायो
लोकमानजीको घरमा नोटिस्, टाँस्न पठायो
नोटिस् टाँस्न जाँदा घरमा, ज्वाइँ राजाले खेदेका
हाम्रा तामिलदारले बाउको, बिहे देखेका
अदालतको छातीमा, जेमराजको पैतालो
नामै सुन्दा संसदमा, जान्थ्यो भैंचालो
सबै पार्टी मिलेर, पहिले तिर्सुल डामेको
साँढे हान्न आउँदा अहिले, धनु कामेको
एउटा ठेगान लाग्दैछ, हजार लोकमान जागा छन्
कसले तह लाउने तिनलाई, हान्ने राँगा झन्
मान सिंह, तान् सिंह –लोकमान सिंह
रुख सिहं घाम सिंह – लोकमान सिंह
हँसिया तारा – लोकमान सिहं
सबका प्यारा – लोकमान सिंह ।
कादर खान सिहं – लोकमान सिंह
गब्बर मान सिंह – लोकमान सिंह
अटेर मान सिंह – लोकमान सिहं
नटेर मान सिहं – लोकमान सिह
भिर उक्लेका –लोकमान सिंह
सिङ् फुक्लेका–लोकमान सिंह
पिराए सारा – लोकमान सिंह
अस्ताए तारा – लोकमान सिह
त्यस्तै, कार्यक्रममा सिस्नुपानी नेपालका महासचिव टङ्कप्रसाद आचार्य, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षिलगायतले देउसी रे को भाकामा प्रस्तुति दिएका थिए ।
लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग राख्दै अनसन बसेका गोबिन्द केसीलाई पनि कलाकारले छाडेनन्-
केसी सुत्छन् सरकार उठ्छ, केसी उठ्छ्न् सरकार सुत्छ नि लैलै
अनशन हो भन्छन्, दसैँ छुट्टि लिन्छन्
डाक्टर – सरकार उस्तै उस्तै छन्
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देउसी विचारोत्तेजक र रोचक भएको बताउँदै अर्को वर्षको देउसीसम्ममा संविधान कार्यान्वयन भइसक्ने र त्यतिबेला अरु नै विषयले प्राथमिकता पाउने आशा व्यक्त गरे ।
त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले संस्कृतिलाई कायम राख्न र समाजलाई सही दिशा दिन यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।
त्यसैगरी वरिष्ठ नेता पौडेलले भने सिस्नुपानीले आफू कार्यकारी प्रमुख नभएको प्रति सङ्केत गर्दै, ‘मलाई सिस्नुपानीले पोल्ने गरेको छैन’ भने ।सिस्नुपानी नेपालले विगत १९ वर्षदेखि हरेक वर्ष देउसी कार्यक्रम गर्दे आएको छ ।
लोकान्तरको सहयोगमा