कारागारमा छाला रोगको प्रकोप
- कार्तिक १७, २०७३
- ब्लाष्ट खबर
रत्ननगर (चितवन)/चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ ।
क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले बताए ।
कारागारमा रहेका झन्डै ६०० कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङले बताउनुभयो । छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले उपचार गरी पाउँ भन्दै कारागार व्यवस्थापनलाई निवेदन समेत दिएका छन् ।
कारागारभित्रै कैदीको रुपमा रहेका अहेव तथा मेडिकल नाइके ओदारी महतोले छालाको रोग देखिएको लामो समय भए पनि अहिले भने रोग बढेर गएको बताउछन् ।
कैद भुक्तान गरिरहनुभएका उनी कैदी र थुनुवालाई कारागारभित्रै उपचार गर्ने मेडिकल प्राविधिक हुन् । भित्रको औषधिले नभेटेकाले बाहिरबाट औषधि र चिकित्सक ल्याउनुपर्ने महतोको भनाइ छ ।
कारागारमा छालाको रोग बढेको बताउँदै कारागार प्रमुख कमल काफ्लेले रोगको उपचारका लागि बाहिरबाट औषधि र चिकित्सक ल्याउने तयारी भएको बताए । यो वर्ष कैदी र थुनुवाको उपचारका लागि भनेर रु १० लाख रकम सरकारबाट आएको काराकारले जनाएको छ ।
दुई सय ५० कैदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा अहिले झन्डै ६०० पुगेका छन् । कारागारभित्र व्यक्तिगत सरसफाइको अभाव छ । बढी कोचिएर बस्नपर्ने बाध्यताले छालाको रोग बढेको हो ।
अहिले नियमित उपचार गर्ने अन्य बिरामी क्यान्सरका पाँच जना, टिभीका पाँच जना, हेपाटाईटिसका दुई जना तथा अधिकांश उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको कारागारले जनाएको छ । रासस