-Khopइटहरी / सुनसरीको बक्लौरी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । विभिन्न संघ संस्थाको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय महिला स्वयमसेविकाहरुको सहभागितामा गाविसलाई पूर्ण खोप मुक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीेले जनाएको छ ।

१८ हजार जनसङ्ख्या भएको बक्लौरी गाविसको इलाका स्वास्थ्य चौकीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । स्वास्थ्य चौकीलाई साढे १६ कट्ठा जमिन निःशुल्क उपलव्ध गराउने स्थानीय समाजसेवी देवनारायण राजधामीले कार्यक्रममा पूर्ण खोपयुक्त गाउँ घोषणा गरेका थिए ।

कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सदस्य गणेशप्रसाद गुरागाई ,करुणा फाउण्डेशनका सुनसरी संयोजक रमेश बराल, पुर्व गाविस सचिव मणिराज पोख्रेल, श्यामनारायण राजधामी इलाका स्वास्थ्य चौकी इन्चार्ज हरिदेव ठाकुर , पुष्प प्याकुरेल ,शैलेन्द्र राजधामी बकलौरी गाविसका सचिव लीलाराज अधिकारीले वोलेका थिए ।