धरान/ झिगु समाज धरानले नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको स्मरण गर्दै नेपाल सम्वत ११३७ को स्वागत गरेको छ ।नयाँ सम्वतको अवसरमा समाजले कात्तिक १५ गते धरान उपमहानगरपालिकाको कार्यालयबाट ¥याली निकालेको थियो । धरान–३ स्थित पालिका बजारमा आइपुगेपछि सहभागीहरुले साख्वालाई माल्यार्पण गरेका थिए । कार्यक्रममा सहभागीहरुले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा विकास गरेर लैजानु पर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यो सम्वतलाई राष्ट्रिय सम्वत बनाउने प्रतिवद्धता गरेकाले यसलाई राष्ट्रिय सम्वत बनाउनु पर्ने बताए । कार्यक्रममा धरान काठमाडौं सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पनि नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा विकास गर्नुपर्ने बताए । ¥यालीमा धरानका नेवार समुदायको विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । नयाँ नेपाल सम्वतको अवसरमा हरेक वर्ष समाजले कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष नरेशकुमार शाक्यले बताए ।यसैबीच नेवार एकता समाज धरान–३ नं वडा समितिले प्रकाशन गरेको नेवा गोजी पात्रो पनि विमोचन गरिएको छ ।
धरानका हरेराम कर्माचार्यको सम्पादन तथा संयोजनमा वर्ष ११३७ को नयाँ पात्रो प्रकाशित गरिएको हो । कर्माचार्यले नेपाल सम्वतको नयाँ वर्षमा सात वर्षयता गोजी पात्रो प्रकाशन गर्दैआएका छन् । यस्तै धनकुटा समाचारदाताका अनुसार नेपाल सम्वत ११३७ नयाँ वर्ष न्यु दया भिन्तुनाको अवसरमा सोमबार धनकुटा र हिलेमा छुट्टाछुट्टै साँस्कृतिक ¥याली आयोजना गरिएको छ । सो अवसरमा धनकुटा–७ श्रीवानीमा हालै निर्माण गरिएको राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । शालिकको अनावरण ९० वर्षीय वयोवृद्ध शिरवानीका जेष्ठ सदस्य बुद्धिमान ढङ्गोलले गरेका थिए ।
नेवाःपुचः धनकुटाले शंखधर साख्वाको शालिक स्थापना गरेको स्थल श्रीवानीदेखि शुरु गरेको साँस्कृतिक ¥यालीले धनकुटा बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । बजार परिक्रमापछि धनकुटा–६ बीचबजारमा तयारी गरिएको विशेष नेवारी भोजसँगै शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष नवीनकिशोर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा जिविसका वरिष्ठ कार्यक्रम अधिकृत सीताराम श्रेष्ठ, आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राई, समाजसेवी भरतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेसका नेता आनन्दसन्तोषी राई, मिसा खल धनकुटाकी अध्यक्ष रेणु श्रेष्ठ, धनकुटाका अग्रज पत्रकार राजेश्वरबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा नेवारी समुदायको भाषा, सँंस्कार, सँस्कृतिलाई बचाउन योगदान पु¥याउने भरतनारायण श्रेष्ठ, वर्तकुमारी श्रेष्ठ र व्यवसायी मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।सो अवसरमा नेवारी समुदायमा योगदान पु¥याउने सरकारी कार्यालय तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई नेवाः पुचः धनकुटाको तर्पmबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेवाः पुचः धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधानले गरेका थिए ।यसैगरी झिगु समाज हिलेले पनि हिले बजारमा ११३७ नेपाल सम्वत न्यु दया भिन्तुनाको अवसरमा ¥याली तथा शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष सीताराम श्रेष्ठले जनाए । हिलेका नेवार समुदायले आफ्नै भेषाभूषा लगाएर झाँकी सहित बजार परिक्रमा गरेका उनले बताए ।