उर्लाबारी/उर्लाबारीमा पनि डेंगू सङ्क्रमित बिरामी फेला परेका छन् । गोदावरी अस्पतालमा उपचाररत् उर्लाबारी–४ की १६ वर्षीया लक्ष्मी शाहलाई डेंगू सङ्क्रमण भएको शनिबार थाहा भएको हो । गोदावरी अस्पतालमा यस साता मात्र डेंगू सङ्क्रमित बिरामीको सङ्ख्या चार पुगेको अस्पतालले जनाएको छ । तीमध्ये हाल शाहको उपचार सोही अस्पतालमै भइरहेको छ भने अन्यको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।
शाहलाई केही दिनअघि झापाको दमक बजार गएका बेला डेंगू लागेको हुनसक्ने उनका बुबा अखिलेश शाहले बताए । ‘छोरी दमक बजार घुम्न गएकी थिई, बेलुका घर आएपछि टाउको दुख्यो भनी’, उनले भने, ‘भोलिपल्ट एउटा क्लिनिकबाट एन्टिबायोटिक खाँदा पनि ठीक नभएपछि यहाँ आउँदा डेंगू लागेको थाहा भयो ।’ छिमेकी नगर दमकमा डेंगू सङ्क्रमण बढेसँगै उर्लाबारीमा पनि डेंगूका सङ्क्रमित भेटिन थालेका हुन् ।
उर्लाबारी–४ की ६१ वर्षीया वृद्धा रामकुमारी राईलाई डेंगू भएपछि थप उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको अस्पतालका अध्यक्ष एवम् फिजिसियन डा. सूर्यनाराण शाहले बताए । राईलाई डेंगू लागेको पुष्टि भएको थियो । यसै साता मात्र उर्लाबारी–२ की २७ वर्षीया सरिता थापा र उर्लाबारीकै शोभित भण्डारीलाई डेंगू सङ्ंक्रमण भएको सो अस्पताल प्रशासनले जनाएको छ । उनीहरुको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।