धरान/धरानमा अखिल नेपाल चिकित्सक सङ्घको तीनदिने सम्मेलन हुने भएको छ । सङ्घको धरान शाखाले सोमबार पत्रकार सम्मेलन गर्दै सम्मेलन कात्तिक २५ देखि २७ गतेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने जनाएको छ ।धरान शाखाको संयोजनमा हुने सम्मेलनको मुख्य एजेन्डा ‘मौलिक स्वास्थ्य अधिकार कार्यान्वयनको प्रत्याभूति’ रहेको छ । सन् २००३ पछि १३ वर्षको अन्तरालमा चिकित्सकहरुको बृहत् सम्मेलन धरानमा हुन लागेको हो ।

dd

सम्मेलन अवधिभरमा स्वास्थ्य र चिकित्सा विज्ञानमा आधारित १५ कार्यशाला, तीन विद्वत् प्रवचन र ८० वटा वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरिने आयोजकसमेत रहेका सङ्घका धरान शाखा अध्यक्ष स्त्री तथा प्रसुती विशेषज्ञ प्राडा मोहनचन्द्र रेग्मीले बताए । उनका अनुसार सम्मेलनमा मौलिक स्वास्थ्य अधिकारलाई लिएर नेपाल हेल्थ फाउन्डेसनका अध्यक्ष समेत रहेका चीनका लागि निवर्तमान राजदूत डा महेश मास्केको विशेष सम्बोधन, आम्दा इन्टरनेसनलका अध्यक्ष डा शिगेरु सुगानामीको ‘नेपाल चिकित्सक सङ्घ प्रवचन’, प्राडा मदनप्रसाद उपाध्यायबाट ‘मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट प्रवचन’ राखिएको छ ।

‘मुलुक गणतन्त्रमा प्रवेश गरेपछि संविधानसभाबाट हालै जारी संविधानमा स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा स्वीकार गरिएको सन्दर्भलाई जोडेर यसैमा केन्द्रीत हुने छौँ ।’ रेग्मीले भने । उनले संविधानमा नीतिगत रुपमै स्वास्थ्य अधिकारलाई मौलिक अधिकार र हकका रुपमा स्वीकार गरिए पनि यसको कार्यान्वयन सहज नभएर चुनौतीपूर्ण रहेकाले पहल गर्नकै लागि पनि चिकित्सकहरुको बृहत् सम्मेलन आवश्यक भएको बताए ।पत्रकार सम्मेलनमा आयोजक कमिटीका सचिव हाडजोर्नी विशेषज्ञ प्राडा पशुपति चौधरीले सम्मेलनमा नीति निर्मातादेखि देश–विदेशका स्वास्थ्य विशेषज्ञ, स्वास्थ्य वैज्ञानिकहरुलाई पनि सहभागिता गराइने भएकाले स्वास्थ्य अधिकार कार्यान्वयनमा ठोस दिशानिर्देश हुने बताए ।

‘पछिल्लो समयमा आधुनिक चिकित्सा विज्ञान नयाँनयाँ प्रविधिसँगै अगाडि बढिरहेको अवस्थामा नेपालका कैयौँ जिल्ला र गाउँमा सर्वसाधारणको स्वास्थ्य अधिकारमा पहुँच पु¥याउन नसकेकाले मौलिक स्वास्थ्य अधिकार कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भनेर बहस राखिएको छ ।’ उनले भने ।प्राथमिक स्वास्थ्यसहितको मौलिक स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्ने पक्षसँग जोडेर धरान घोषणापत्र जारी गर्दै सम्मेलनको उद्देश्य पूरा गर्ने उनले बताए । स्वास्थ्य सेवा सर्वसुलभ बनाउने विषयमा सम्मेलनले बहस गरेपछि निष्कर्ष सार्वजनिक गरिने कमिटीका उपाध्यक्ष मनोचिकित्सक प्राडा निदेश सापकोटाले बताए ।

सम्मेलनमा नेपालभरका विभिन्न अस्पताल, मेडिकल कलेज र निजी स्तरमा कार्यरत् रहेका सङ्घमा आबद्ध पाँच हजार पाँच सयमध्ये सात सय चिकित्सकहरुको सहभागिता रहने बताइएको छ । सम्मेलनमा नेपाल, भारत, चीन, क्यानाडा, अमेरिका, बेलायत, जापानलगायतका विभिन्न विषयका विशेषज्ञ चिकित्सक, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि, स्वास्थ्य मन्त्री गगन थापा र स्वास्थ्य सचिव पनि सहभागी हुनेछन् ।