फेसबुकमा फेमिना चापागाई भनेर चिनिएपनि यिनको वास्तविक नाम विधा सरकार हो । होचो भएपनि आकर्षक १९ वर्षे यी युवती माथि पछिल्लो समय तीन वटा आरोप लागेको छ–विवाहिता हुँदाहुँदै अविवाहित भनेर विवाह, विवाहका २५ लाखका गहना र जर्मन पठाइदिन्छु भन्दै झण्डै ५० लाख ठगी, अनि थर, जात, गोत्र ढाँटेर विवाह ।
यी आरोप अनि घटनाक्रमले यिनको ६ महिने वैवाहिक जीवन पनि तनावमा बितेर अहिले श्रीमान्ले विवाह बदरको माग गर्दै जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेका छन् । मुद्दामा यिनै तीन आरोप लगाइएको छ । यिनको पारिवारिक तनाव अहिले सञ्चारमाध्यममा छाएपछि सञ्चारमाध्यम नै दुई भागमा विभक्त छ । थपलियाले प्रभाव पार्न सक्ने मिडियामा विद्यालाई ठग, चालु युवती आदि आरोप लगाइएका समाचार आएका छन् भने विद्याको चिनजान रहेका मिडियामा उनलाई उनकै परिवारले फँसाएको, घर पस्नै नदिएको भनेर समाचार आइरहेका छन् । विद्या र उनको परिवारले सँगै बसेर कुरा गर्न तयार रहेको र आफूसँग सबै प्रमाण रहेको बताउने गरेका छन् । दुवैको दावी र आरोपले आम मानिसलाई पनि अलमल बनाइदिएको छ ।
पार्टी चिनजानले गाँसिएको सम्बन्ध
इटहरीकी फेमिनाको विवाह झापा बिर्तामोड–६ का १८ वर्षे सुसन चापागाईँसँग यही वैशाखमा भयो । सुशनका दाई रोशनसँग फेसबुकमार्फत् चिनजान थियो । रोशन राप्रपा नेपालका कार्यकर्तासमेत भएको र फेमिना पनि राजदरबार र राप्रपा नेपालको कार्यक्रममा हिँडिरहने भएकोले चिनजान बाक्लियो । उनी रोशनको घरसम्म पुगिन् र रोशनकी श्रीमनी सरुसँग पनि राम्रो सम्बन्ध बनाइन् । यसै क्रममा सिंगो थपलिया परिवारसँगै फेमिनाको चिनजान भयो ।
थपलिया परिवार र फेमिनाबीचको सम्बन्ध यति अनौठो तरिकाले झाँगियो कि थपलिया परिवारले फेमिनालाई विवाहअघि नै आफ्नी कान्छी बुहारीको रुपमा स्वीकार ग¥यो । हिन्दू परम्पराअनुसार वैशाख १८ गते विवाह गरेका यी जोडीले कानुनी विवाह भने त्यसको २०७२ माघमै गरिसकेका थिए । पछि पोर्चुगल जान सजिलो हुन्छ भनेर थपलिया परिवारकै दबाबमा तीन महिनाअघि नै कानुनी विवाह गरेको फेमिनाको भनाई छ । त्यसपछि फेमिनाको बसाई आधा इटहरी र आधा बिर्तामोड हुन थालेको थियो । परिवार नै भएर घुम्न जाने, फोटो खिच्ने गर्न थाले ।
फेमिनाको सम्बन्ध श्रीमान् सुशनसँग भन्दा पनि जेठाजु रोशनसँग घनिष्ट थियो । व्यवहारिक बनिनसकेका र भर्खर युवाअवस्थामा प्रवेश गरेका सुशनलाई समेत मन परेपछि परिवारकै समर्थनमा मागी विवाह गरिएको बताइन्छ । ससुरा धनपति थपलियाले विष्फोटनसँग कुरा गर्दै परिवारिक चिनजानपछि विवाह भएको स्वीकार गरेका छन् । सुसनले फेमिनाविना आफू बाँच्नै नसक्ने भनेपछि मागी विवाह गरिएको थियो ।
जर्मनको जञ्जाल
सोही क्रममा जेठाजु रोशन र सुसनसँग फेमिना काठमाडौ घुम्न गइन् । ड्राइभर थिए, काठमाडौमा बसेर डेढ वर्षदेखि ट्याक्सी चलाइरहेका नारायण गौतम । घुमघामका क्रममा थपलिया परिवार र फेमिनाले जर्मन पठाइदिने सपना देखाए । त्यसको केही दिनपछि नारायणले विद्याको खातामा ११ लाख रुपैयाँ हालिदिए । ‘जर्मन जानको लागि मैले असार अन्तीममा पैसा हालिदिएँ
र साउन ११ गते विद्यासँगै कागज गरेँ,’ उनले विद्याले नै विदेश लाने भनेपछि उनकै खातामा पैसा हालिदिएको र पैसा हालिदिएको व्यक्तिसँगै कागज गरेको बताए ।
तर यता फेमिनाले भने जर्मन लाने आश्वासन जेठाजु रोशनले दिएको र रोशनको बैंक खाता नभएकोले आफूलाई नियोजित रुपमा पैसा हालिदिएको पत्रकार सम्मेलन नै गरेर बताएकी छिन् । उक्त पैसा पछि सासुसमेत लगेर बैंकबाट झिकेर आफूले हातमा दिएको फेमिना बताउँछिन् ।
जर्मन पनि नपठाएपछि र पैसा पनि फिर्ता नदिने, उल्टै झुलाउन थालेपछि एक महिनापछि नारायणले फेमिनाविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्धा हाले । गत भदौ ६ गते विर्तामोडस्थित आफ्नै घरबाट फेमिना पक्राउ परिन् र काठमाडौ लगिइन् । पछि नबिल बैंक शाखाबाट पैसा झिकेर दिएको फुटेज विभागलाई दिएपछि पाँच लाख रुपैया धरौटीमा आफू छुटेको फेमिना बताउँछिन् ।
तर फेमिनाका ससुरा धनपति थपलियाले भने पैसा लिएको अस्वीकार गरेका छन् । ‘अरु धेरै मानिसलाई जर्मन लान्छु भनेर पैसा मागेको रहेछ, धेरै मान्छे पैसा माग्दै घरमा आइरहेका छन्,’ धनपती भन्छन् । ठगी आरोपमै बुहारी फेरी पनि जेल जाने समेत ठोकुवा गरे । थुनामा रहेकी फेमिनाले जेठाजुसहित परिवार नमुछियोस् भनेर पहिले त आफूले आरोप सकारेको बताउँछिन् । तर पछि मुद्दा अदालत पुगेपछि थपलिया परिवारले आफ्नो चासो राख्न छाडेको बरु अझ थुनाउन र छोरालाई डिभोर्स दिन दबाब दिन थालेको उनको आरोप छ ।
‘छोरालाई डिभोर्स दे, ११ लाख हामी नै तिरिदिन्छौं र छुटाइपनि दिन्छौंसम्म भने,’ फेमिनाको भनाई छ, ‘अघिसम्म सबै ठीकठाक परिवारले पछि मलाई जसरी पनि हटाउने योजना बनायो ।’ पीडित नारायणकाअनुसार फेमिनाका ससुराले फोन गरेर अझै केहीदिन फेमिनालाई जेलमा राखे आफूले पैसा तिरिदिने आश्वासनसमेत दिएका थिए । ससुरा भने यो कुरा स्वीकार्न तयार छैनन् । जेल मुक्त भएर घर पुगेकी उनलाई थपलिया परिवारले शारीरिक र मानसिक यातना दिएको उनको आरोप छ । फेमिना घर फर्कन ज्यानको असुरक्षा रहेको बताइरहेकी छिन् । जबकी थपलिया परिवार फेमिनाले नै ‘सबैलाई देखाइदिने’ धम्की दिँदै आएको गुनासो गर्छ ।
पूर्व पतिको प्रवेश
संखुवासभाका दिलीप चौहान आफू फेमिनाको पूर्वपति भएको भन्दै उनको घरमा पुगेपछि खास समस्या उत्पन्न भएको हो । उनी फेमिनाका जेठाजु सरोजका मिल्ने साथी पनि हुन् । अहिले पनि दुवै मिल्छन् ।
चौहानले फेमिनालाई मोडल बन्ने धुन चढ्दा फोटो सेसन गरिदिएको समेत बताइन्छ । मलेसियामा लामो समयदेखि काम गर्दै आएका चौहानले फेमिनालाई मलेसिया बोलाएको र एक वर्ष राखेको थपलिया परिवारको दावी छ । फेमिनाले समेत तीन महिने टुरिस्ट भिसा मिलाएर गत वर्ष मलेसिया गएको तर आफू त्यहाँ बुटवलकी साथी भवानी शर्माकोमा गएर एक महिना घुमेर फर्किएको बताउँछिन् ।
तर चौहान भने त्यो अवधिमा फेमिना र आफू मलेसियामा सँगै बसेको र स्थानिय मन्दिरमा विवाह गरेको दावी गर्दै आएका छन् । दुवैजना जर्मन जाने प्रक्रिया मिलाउनका लागि भन्दै फेमिना नेपाल आएर आफूसँग पटक पटक गरेर लाखौं रुपैया मागेको तर जर्मन जान भनेर नेपाल बोलाएपछि फेमिनाले अर्कै बिहे गरेको फोटो फेसबुकमा देखेपछि घर खोज्दै आइपुगेको बताउँदै आएका छन् ।
उनी आएर फेमिनालाई आफ्नो श्रीमती दावी गरेपछि फेमिनाले चौहानविरुद्ध उजुरी दिने कुरा परिवारसँग चलाएको बताइन् । ‘उजुरी दिँदा परिवारकै बेइज्जत हुन्छ भनेर मलाई रोकियो,’ फेमिना भन्छिन्, ‘अहिले भने कुन इज्जतको पर्वाह गरेर
आफ्नै घरकी बुहारीको बेइज्जत गरिएको छ ?’
चारजना पूर्वपतिहरु ?
यही दुई महिनाभित्र नै थपलिया परिवारले फेमिनाकोविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेको छ । फेमिनाले जर्मन पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगेको, ठगिएकाहरु आफ्नो परिवारको सम्पर्कमा आइरहेको, पूर्व पतीहरु भन्दै विभिन्न संयुक्त तस्वीरहरु भेटिएका आधारमा चार जनाको नामै किटान गरीएको छ ।
अदालतमा बुझाइएको फिराद पत्रमा दिलिप चौहान, दिवाकर डंगोल, सुरेश दाहाल, सुरज दंगाल र दिपेश कार्कीलाई फेमिनाको पूर्वपतिको रुपमा आरोप लगाइएको छ । फिराद पत्र फेमिनाकै श्रीमानले बुझाएका हुन् । चौहान पनि फिरादपत्रको साक्षी बनेका छन् । तर सामान्य चिनजान भएकाहरुसँग नाम जोडेर आफूलाई बद्नाम गरिएको फेमिनाको आरोप छ । उनले ससुरासमेतले आफ्ना पतिलाई फँसाएर उजुरी दिन लगाएको उनको आरोप छ ।
शाह परिवारसँग उठबस
यिनको सम्पर्क र उठबस शाह परिवारसँग छ । राप्रपा नेपालको गतिविधिमा संलग्न हुने र राप्रपा नेपालले शाह परिवारलाई समर्थन गरेको हुँदा उनी हिमानी शाहको ट्रष्टले गर्ने सामाजिक काममा समेत संलग्न हुने गरेको खुलेको छ । यिनले आफ्नै नामले पनि धरानमा एउटा विद्यालयलाई सहयोग प्रदान गरेकी थिइन् । यिनको नाममा ठूलो फोटो सहितको व्यानर टाँसिएको फोटो यिनको फेसबुकमा अझै छ । यिनका जेठाजु राप्रपा नेपालका झापा जिल्ला तहका नेता हुन् । एउटै पार्टीको यो परिवारबिचको फुटबारे सञ्चारमाध्यममा व्यापक भइसक्दा पनि पार्टीले भने कुनै चासो दिएको देखिँदैन ।
फेमिनाविरुद्ध जिल्ला अदालतमा दायर मुद्धामा त झन् पुर्वराजा ज्ञानेन्द्र, शाह परिवार, राजेश हमाल, कमल थापा लगायतसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै धुमधामसँग बिहे गर्न र खर्च गर्न लगाएकोसमेत उल्लेख छ । विद्याको जन्मदिनमा केक काट्न पूर्व मन्त्री तथा इटहरीका पूर्व प्रधानपञ्च रामकुमार सुब्बासमेत पुगेको बताइन्छ ।
रहस्यमय मलेसिया बसाई
तीन महिनाको भीसा मिलाएर मलेसिया गएको र एक महिना त्यहाँ बसेको बताउने फेमिना केटी साथीको सहयोगमा त्यहाँ घुमेको बताउँछिन् । साथै उनले आफू जर्मनी आजसम्म नगएको, बरु स्वीट्जरल्याण्ड केही समय बसेको बताउँछिन् ।
तर दार्जेलिङ पुग्दा नै आफ्नो सेल्फी फेसबुकमा राख्ने आजको युवा पुस्ताकी फेमिनाले स्वीट्जरल्याण्ड भनेर अहिलेसम्म फेसबुकमा लेखेको वा तस्वीर राखेको देखिँदैन । यस्तै मलेसियामा काम गर्नको लागि गएकी कुनै केटी साथीले साथीलाई बोलाएर एक महिना पाल्न सम्भव देखिँदैन ।
यता सोही बेलामा चौहानसमेत मलेसियामा थिए । उनी चौहानकै सहयोगमा मलेसिया गएकी, बसेकी नहोलिन् भन्ने आधार कम छन् । तर फेमिनाले भने त्यहाँ केटी साथीसँग बसे, घुमेका आवश्यक प्रमाण दिने दावी गर्दै आएकी छिन् । मलेसिया बसेर उनले आफू जर्मनीमा रहेको, जर्मनीमा आफ्नो पसलहरु भएको र जर्मनी लगिदिने भन्दै मानिसहरुसँग पैसा माग गर्ने गरेको आरोप थपलिया परिवार स्रोतले केही मिडियामा दिएको सुचनामा उल्लेख छ ।
श्रीमान्ले हालेको मुद्दामा फेमिना बलियो
फेमिनाको परिवारले मुख्यतः तीन वटा विषयमा मुद्धा हालेको देखिन्छ । पहिलो उनले जात ढाँटेर विवाह गरेको आरोप । तर गत जेठमा भएको भनिएको विवाह दर्ताको प्रमाणपत्रमा उनको थर चापागाईँ नलेखिएर सरकार नै लेखिएको छ । उक्त प्रमाणपत्रमा दुवै बिच विवाह २०७२ साल माघमै भएको उल्लेख छ । जेठमा विवाह दर्तामा सरकार लेखिएको थियो । तर त्यो बेलासम्म पारिवारिक सम्बन्ध राम्रै देखिन्छ । ‘कुरा
छिन्दाखेरी नै दलित नै भएपनि विद्यालाई बुहारी बनाउँछौं भनेर उनीहरुले भनेका थिए,’ विद्याकी सानीमा यमुना चापागाईले बताइन् ।
यस्तै फेमिनाले २५ लाखको गहना र नगद गरेर ५० लाख हाराहारी कुम्ल्याएको आरोप लगाइएको छ । फेमिनाले भने थपलिया परिवारले विवाहमा दिएको गहना पनि सापटी झै ल्याएर लगाइदिएको र आफूले सम्बन्धित गहना पसलमा फिर्ता गरिदिएको बताएकी छिन् । उनले सो बारे आफ्नो माइतीलाई चित्त दुख्छ भनेर केही नबताएको बताएकी छिन् ।
यता विभिन्न चार व्यक्तिसँग यसअघि नै विवाह गरेको आरोप लगाइएको छ । फेमिनाले भने चारजनामध्ये तीन जनासँग चिनजान रहेको बताएपनि प्रेम वा विवाह गरेको भने स्वीकारेकी छैनन् । तर थपलिया पक्षले फेमिनाको फेसबुक च्याटको डिटेल निकालेको छ । च्याटको डिटेलमा विवाह नगरे आत्महत्या गर्ने भनेर परिवारलाई दबाब दिन फेमिनाले सुसनलाई उक्साएको उल्लेख भएको थपलिया परिवारको दावी छ । तर फेमिनाको फेसबुक थपलिया परिवारले नै चलाउने गरेको र पासवर्डसमेत आफूसँग नरहेको फेमिनाको दावी छ ।
उल्टै मुद्दा
यता ससुराको उक्साहटमा श्रीमानले आफूविरुद्ध उजुरी दिएपछि फेमिनाले पनि आफ्ना परिवारविरुद्ध मानापाथी, जालसाजीलगायतका चार विषयमा मुद्धा हालेको बताएकी छिन् । उनले श्रीमानले हालेको उजुरीअनुसार कुनै पत्र भने आफूसँग नआइपुगेको दावी गरेकी छिन् ।
दुवै पक्षले कानुनीसाथै सञ्चारमाध्यमको समेत सहयोग लिइरहेका छन् । धनपती थपलियाले झापाका केही मिडियालाई प्रभावमा लिएका छन् भने यता विद्याले समेत इटहरीमा पत्रकार सम्मेलन गर्ने र मिडियामा लबिङ गर्ने काम गरिरहेकी छिन् । फेमिनाले थप केही मानिसलाई जर्मन लाने भन्दै झुक्याएको बताइन्छ । उनकै सानीमा यमुनालाई पनि उनले जर्मन पठाउने भनेर काठमाडौसम्म बोलाएकी तर पछि लान नसकेपछि दुवैबिच केही महिना सम्बन्ध बिग्रिएको स्रोतले जानकारी दिएको छ । वाकपटुताले निपुण फेमिनाले तथ्यहरुलाई तोडमोड गर्दै आएकी छिन् । यता थपलिया परिवार पनि कम छैन । राजनीतिक पहुँच कायम राख्दै थपलिया परिवारले आफ्नो बद्नामी नहोस् भनेर धेरै तथ्य तोडमोड गरेर सञ्चारमाध्यमलाई दिएका छन् ।
फेमिना र थपलिया परिवार दुवै आफ्नो गल्ती मान्न तयार छैनन् । अझ दुवै मिडिया फेस गर्न तयार रहेको र आफूसँग सबै प्रमाण रहेको बताउँदै आएका छन् । दुवै पक्षका समर्थक र विरोधीहरुले समर्थन र आलोचना उत्तिकै गरिरहेकाछन् । तर दुवैले गलत तथ्यहरु दिएर मिडियालाई ‘मिसलिड’ पनि गरिरहेका छन् ।
दुवैले एक अर्कालाई गलत भनिरहँदा फेमिनाको पासपोर्ट, बैंक एकाउण्ट, फोन डिटेल र विदेश पठाउने भनेर पैसा लिँदा गरिएका लिखित कागजातलगायतको प्रहरी अनुसन्धानपछि मात्र तथ्य र आरोपहरु कसको सही वा कसको गलत भनेर यकीन हुन सक्छ । (विष्फाेटनबाट)