-
Home
-
सिनेमा
-
भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई पक्की भवन
भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई पक्की भवन
- मंसिर ३, २०७३
- ब्लाष्ट खबर
धादिङ/२०७२ सालको भूकम्पपछि विद्यालय भवन भत्किएपछि चौरमा बसेर पढ्दै आएका छत्रे देउराली–४ रातमाटेस्थित भानुभक्त निम्नमाध्यामिक विद्यालयका विद्यार्थी अब पक्की भवनमा बसेर पढ्न पाउने भएका छन् ।
आधार फाउन्डेसन नेपालको पहलमा अमेरिकास्थित ‘वे एरिया नेपाल वेमन संस्था’ले छकोठे पक्की भवन बनाएपछि विद्यार्थी अबदेखि बाहिर भुइँमा बसेर पढ्न नपर्ने भएको छ । २०७२ सालको भूकम्पपछि विद्यालयको आठकोठे भवन भत्किएपछि कक्षाकोठाको अभावमा विद्यार्थी बाहिर चौरमा बसेर पढ्दै आएका थिए ।
आज विद्यालयमा आयोजित कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङलाई उक्त भवनको चाबी हस्तान्तरण गरे । चाबी हस्तान्तरण गर्दै सांसद श्रेष्ठले शिक्षाको गुणस्तरमा बढाउनुपर्ने जोड दिँदै विद्यार्थी छाडेका विद्यार्थीलाई फर्काउने वातावरण बनाउनुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक दीपक भारतीले भवन बनेपछि अब विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता हटेको बताए । ‘‘भवन भूकम्पले भत्काएपछि विद्यार्थीलाई पढाउन कक्षाकोठाको समस्या थियो’’, उनले भने, ‘‘कक्षाकोठा नभएपछि धेरै विद्यार्थीले विद्यालय छाडे ।’’
उनले भूकम्पले गर्दा कक्षाकोठा नभएपछि विद्यार्थी घटेको बताउँदै अब वैशाखदेखि पुनः विद्यार्थीलाई विद्यालयमा ल्याउने वातावरण बनाउने जानकारी गराए । उनका अनुसार भूकम्पपछि कक्षाकोठा अभावका कारण धेरै विद्यार्थीले विद्यालय छाडेर अन्यत्र गएका छन् । एक सय ५० विद्यार्थी रहेकामा उक्त विद्यालयमा भवन अभावका कारण ३० जना मात्र विद्यार्थी रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले भवन बनेपछि विद्यार्थीलाई पढ्ने वातावरण बनेको बताए । अभिभावक शङ्करराज भारतीले विद्यालयको भवन बनेपछि विद्यार्थी अब भुइँमा बस्नुनपर्ने भएको भन्दै स्कुल छाडेका विद्यार्थीलाई विद्यालयमा पुनः ल्याउनुपर्ने बताए ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष डिवी भट्टराईले शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनेर भवन बनाएको बताए ।
आधार फाउन्डेसनका सदस्य रणबहादुर खड्काका अनुसार रु ३० लाख लगानीमा उक्त छकोठे पक्की भवन बनाएको जानकारी गराए । रासस