विजयपुर/धनकुटाको तेलिया–७ का थर्कबहादुर लिम्बूलाई बेलायतवासीहरुले ४६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेलायतमा रहेका विश्वदीप तिगेलाको संयोजनमा सङ्कलन भएको ४६ हजार ५ सय २० रुपैयाँ गत शनिबार कमल तिगेला र भरत सुब्बाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
धराने हाइकर्स टिमको उपस्थितिमा तिगेला र सुब्बाले धरान–१४ स्थित नारायणपुरमा पुगेर सहयोग हस्तान्तरण गरेका थिए । मानसिक बिरामी भएका उनलाई उपचार खर्च नभएपछि तेलियास्थित आप्mनै घरमा साङ्लोले बाँधिएको अवस्थामा पत्रकार भैरव आङ्लाले उनलाई भेटेका थिए । आङ्लाकै पहलमा थर्कबहादुरलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै पाँच महिना लामो उपचार गरेपछि उनी पूर्ण रुपमा ठीक भएका छन् ।
शारीरिक रुपमा स्वस्थ भएका उनी धराने हाइकर्स टिमसँगै हाइकिङ गएका बेला उनलाई सहयोग प्रदान गरिएको थियो । सहयोग रकम उपचार गर्दा लागेको ऋण तिर्न र जीवनयापन गर्न खर्च गर्ने लिम्बूले बताए ।