इटहरी/ यस वर्ष मङ्सिर महिनामै तराईमा चिसो बढेपछि इटहरी उपमहानगरपालिकाले विभिन्न स्थानमा दाउरा बाल्ने र न्यानो कपडा वितरण गर्ने भएको छ । चिसोबाट प्रभावित गरीब तथा पिछडिएको वर्गलाई बचाउने उद्देश्यले दाउरा तथा न्यानो कपडाको खोजी शुरु गरिएको इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले बताए ।
उपमहानगरपालिका, उद्योग वाणिज्य सङ्घ, वन उपभोक्ता समिति, रेडक्रस सोसाइटीसहित विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिगत सहयोगमा दाउरा तथा न्यानो कपडा सङ्कलन तथा वितरण गरिने कार्यकारी अधिकृत राईले जनाए ।बुधबार उपमहानगरपालिकामा बसेको सर्वपक्षीय छलफलले कुन बस्तीमा आगो बाल्ने र कहाँ कहाँका समुदायलाई न्यानो कपडा वितरण गर्ने गर्ने भन्ने तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको छ ।
बैठकमा राजनीतिक दलका प्रतिनिधिसहित उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष लिलम बस्नेत, रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति विमल पौडेल लगायतको सहभागिता थियो । आवश्यक तथ्याङ्कका लागि नगरपालिकाले समुदाय परिचालकलाई परिचालन गरिसकेको पनि उपमहानगरपालिकाले जनाएको छ ।बिहान र बेलुकाको समयमा तराईमा चिसोको कारण गरीब तथा पिछडिएको बस्तीका बालबालिका प्रभावित हुन थालेका छन् । चिसोले तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । घाम नलागेर बाक्लो हुस्सु र चिसो हावा चल्दा तराईको जनजीवन प्रभावित बनेको हो ।
चिसो बढेसँगै तराईका जिल्लामा चहलपहल घट्ने गरेको छ । साना बालबालिका र वृद्धवृद्धा चिसोबाट सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । बाक्लो हुस्सु लागेर चिसो हावा चलेकाले मानिसहरुलाई घरबाहिर निस्किएर काममा जान पनि समस्या हुन थालेको छ । दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने मजदुर र किसानहरुले चिसोले काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । यता, हुस्सुले आलु र गोलभेंडामा डढुवा रोगको प्रकोप देखिने भन्दै किसानहरु चिन्तित भएका छन् । चिसो बढेपछि स्थानीयवासीले तराईका चौक–चौकमा आगो बालेर ताप्न थालेका छन् ।