upfविजयपुर/ धरानमा मङ्गलबार शुरु भएको ‘ट्रान्सफर्मेटिभ डिभाइन प्रिन्सिपल सेमिनार’ शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राडा भीम खतिवडाले प्रेमका नाममा अश्लीलता, स्वाभिमानका नाममा आडम्बर बढ्दै गएको र विकेत राजनीतिबाट मुलुक गुज्रिरहेको अवस्थामा शिक्षित युवा दियो वा ज्योति भएर उभिनुपर्ने बताए ।विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ नेपाल र सिद्धान्त अनुसन्धान महाविद्यालय सङ्घ नेपाल सुनसरी शाखाको संयुक्त आयोजनामा ‘ट्रान्सफर्मेटिभ डिभाइन प्रिन्सिपल सेमिनार’ सञ्चालन भएको थियो । सेमिनारमा समाजका विभिन्न तह र तप्काका साथसाथै विद्यालय तथा क्याम्पस गरी ४० भन्दा बढी युवायुवती सहभागी थिए ।

उनीहरूलाई विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ नेपालका राष्ट्रिय प्रशिक्षक काशीनाथ खनालले एकीकृत जीवनशैली, जीवनोपयोगी, व्यावहारिक, वैज्ञानिक र समसामयिक मूल्य मान्यताको शिक्षाको सन्तुलित विकासबारे प्रशिक्षण दिएका थिए ।कार्यक्रम संयोजक राम लिम्बूले विश्व शान्ति तथा एकीकृत परिवार सङ्घ र सिद्धान्त अनुसन्धान महाविद्यालय सङ्घले विगत लामो समयदेखि युवामा आइरहेको नैतिक ह्रास, स्वेच्छाचारिता, गलत आचरणजस्ता प्रवृत्तिलाई लक्षित गर्दै नैतिकता, जिम्मेवारी, जवाफदेहिता र सच्चा नेतृत्व विकासका लागि चेतनामूलक, सेवामूलक र शिक्षामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । विश्व शान्तिका अभियन्ता डा.सम्यङ मुनले उत्तर कोरियाबाट ‘वान मेन, वान एरिया, वान युनिट र वान एक्सन’ को सिद्धान्तअनुसार शुरु गरेको विश्व शान्तिको यात्रा अहिले विश्वका १ सय ९८ देशमा सञ्चालित छ ।

कार्यक्रममा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा शान्तिदूत राजकुमार कार्की, राष्ट्रिय कलाकार विक्रमश्रि, श्रीमती मार्भिक तिमल्सिना, युएन कलेजका क्याम्पस प्रमुख तथा शान्तिदूत डम्बरकुमार तुम्बापो, वराह ज्वेलर्स प्रालिका शाखा प्रमुख तथा शान्तिदूत मानबहादुर दियाली, विजयपुर एफएमकी अध्यक्ष श्रीमती हिमाल राई, कृति टेलिभिजनका प्रोग्राम कोअर्डिनेटर मोहन श्रेष्ठ, संस्थाका राष्ट्रिय प्रशिक्षक काशीनाथ खनाल, संस्थाका लेटाङ संयोजक लोकबहादुर गिरीलगायत सहभागी थिए । कार्यक्रम युवा शान्तिदूत तथा विजयपुर एफएमकी कार्यक्रम प्रस्तोता इक्सा मादेनले सञ्चालन गरेकी थिइन् ।