विजयपुर/नेपाली सेनाको पोशाकमा सजिएकी बबिता साह शनिबार मोरङको केराबारी स्थित डाँगीमा रहेको सार्वजनिक उच्चमाविमा निकै व्यस्त देखिन्थिन् । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माविमा कक्षा ९ मा पढ्दै गरेकी उनले राष्ट्रिय एकता कसरी कायम गर्नुपर्छ भन्ने विषयमा आफुले धेरै कुरा सिकेको बताइन् ।
उनी नेपाल सरकारले नेपाल सैनिकसँगको सहकार्यमा सञ्चालन गरेको ‘राष्ट्रिय सेवा दल’ को तालिम लिइरहेकी छिन् । उनले सैनिक पोशाक लगाएर देशलाई आइपरेको विपतको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा धेरै कुरा जानेको बताइन् ।‘यहाँ मधेशदेखि हिमालसम्मका मजस्तै विद्यार्थीहरु तालिम लिन आउनु भएको छ, यसरी एउटा समूहमा जिम्मेवारीका साथ अनुशासनमा बस्दा हामी एकअर्कालाई सहयोग गरेरै बसेका छौं’, बबिताले सुनाइन् । उनले राष्ट्रिय सेवा दलको तालिमले अनुशासन, आत्मरक्षा, विपत व्यवस्थापन, सहकार्य र मेलमिलापका विषयमा धेरै कुरा जानेको सुनाइन् ।सैनिक पोशाकमै सजिएकी सङ्खुवासभाको खाँदबारीस्थित सूर्य सेकेन्डरी बोर्डिङ स्कुल कक्षा ९ मा पढ्दै गरेकी माङसा भोटेले पनि भिन्नभिन्न (जाति) समुदाय र क्षेत्र (भूगोल) बाट एउटै उद्देश्यले समूहमा बसेर तालिम गर्दा आफु निकै खुशी भएको बताइन् ।
‘हामीले मधेशका साथीहरुको रहनसहन, सँस्कृतिहरुको बारेमा धेरै कुरा जान्न पाइयो, यो समूहमा रहँदा हामी अनुशासन पालना गरेर मिलेरै बसेका छौं’, उनले भनिन् ।सप्तरीकै ऐश्वर्य यादव पनि सैनिक पोशाकमा सजिएर विद्यालय परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाई डाक्टरसम्म पु¥याउन व्यस्त देखिन्थिन् । ‘राष्ट्रिय सेवा दलको तालिममा आएदेखि हामीले एकअर्कामा मिलेर बस्नु पर्छ भन्ने शिक्षा पाएका छौं’, उनले भनिन्, ‘शुरुमा हामी नेपाली हौं, विपतमा अरुलाई सहयोग गर्नु, समाजमा एकताबद्ध भएर काम गर्नु हाम्रो कर्तव्य हो ।’ भविष्यमा सैनिक या पुलिस बन्ने उनको सपना छ ।खोटाङकी इशा राई स्वास्थ्य शिविरमा भेला भएका गाउँलेहरुलाई आप्mनो नृत्य देखाएर नेपाली मौलिक पोशाकमा देखिइन् । ‘अघिसम्म त आर्मीकै ड्रेसमा थिएँ’, उनले भनिन्, ‘सबै साथीहरुले नृत्य देखाऊ भनेपछि ड्रेस चेञ्ज गरें, अब फेरि आर्मी ड्रेस नै लाउँछु र बिरामीहरु लिएर डाक्टरसम्म पु¥याउँछु ।’ विभिन्न समुदायका साथीहरुसँग बस्दा नेपालीहरुको एकता नै बल रहेछ भन्ने आफुले जानेको उनले सुनाइन् ।सप्तरीका सन्तोषकुमार साहले राष्ट्रिय सेवा दलको तालिमले आफुहरुलाई अनुशासित र कर्तव्यनिष्ठ बन्न सहयोग गरेको बताए ।
उनले कुनै जात, धर्म, वर्ण र क्षेत्र भन्दापनि नेपाली भएर एकताबद्ध हुनुपर्ने बताए ।अहिले मोरङको याङशिलामा रहेको कालिबक्स गणले पूर्वका मोरङ, सप्तरी, उदयपुर, खोटाङ, सङ्खुवासभा र तेह्रथुमका ३ सय ६० जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिइरहेको छ । ३ सय ६० जनामा आधा छात्रा र आधा छात्र रहेको नेपाली सैनिकका मेजर आदित्य कार्कीले जानकारी दिए । तालिम अवधीभर उनीहरुलाई विपद् व्यवस्थापन, अनुशासन, आत्मरक्षा, मास डिल, खुकुरी डिल जस्ता तालिम दिइने उनले बताए । राष्ट्रिय सेवा दलको सय दिनको तालिमअन्तर्गत अहिले २१ दिनको सामूहिक क्याम्प चलिरहेको मेजर कार्कीले जनाए । राष्ट्रिय सेवा दलको कन्सेप विश्वका १ सय ८१ देशमा रहेको उनले जानकारी दिए ।
अनुशासित, कर्तव्यनिष्ठ र देशभक्त नागरिक बनाउने राष्ट्रिय सेवा दलको उद्देश्य रहेको कार्कीको भनाइ थियो ।एक सय दिनको तालिम लिएका विद्यार्थीको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जाने र जिल्ला प्रशासन कार्यालयबाट नै विद्यार्थीहरुलाई सक्रिय बनाइने व्यवस्था छ । मेजर कार्कीले पूर्वाञ्चल क्षेत्रको लागि मोरङको याङशिला, मध्यमाञ्चल क्षेत्रको लागि नवलपरासीको शक्तिखोर र पश्चिमाञ्चलका लागि बाँकेको कोहलपुरमा राष्ट्रिय सेवा दलको तालिमहरु सञ्चालन भइरहेको बताए ।