तरहरा/ मोरङको वयरवन–९ मा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको मिलोमतोमा बहुमूल्य सखुवाको काठ तस्करी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयमा उजुरी परेको छ । तस्करीमा संलग्नलाई कार्वाही गरीपाउ भन्दै सचेत नागरिकको नाममा उजुरी परेको हो । तस्करीमा सामुदायिक वन उपभोक्ता उपसमिति क्षेत्र नम्बर ३ का अध्यक्ष शेरबहादुर लिम्बू, सचिव रेजिना ठकुरी, कोषाध्यक्ष हेमन्त घिमिरे, सदस्य शिवकुमार राई, सल्लाहकार राजकुमार जिमी र विवेक लिम्बू तथा वयरवन–८ का मानकुमार माझी र पथरीशनिश्चरे नगरपालिकाका बलबहादुर लिम्बू लगायत संलग्न रहेको र उर्लाबारीस्थित सेक्टर वन कार्यालयले उनीहरुलाई कार्वाही गर्न आलटाल गरेको भन्दै दर्ता नम्बर १२४७ को उजुरी अख्तियारमा परेको हो । गत मङ्सिर ११ गते वयरवन–८ का शिवकुमार राई र राजकुमार जिमीको योजनामा वयरवनकै मानकुमार माझी र शनिश्चरेका बलबहादुर लिम्बूको नाममा ग्रामीण सुधार सामुदायिक वनले नक्कली लेटरप्याड प्रयोग गरी काठ बिक्री गरेको उजुरीमा उल्लेख छ । हेमन्त भनिने होमनाथ घिमिरे र शेरबहादुर लिम्बू, रेजिना ठकुरीले शनिश्चरे नगरपालिका अन्तर्गत आनन्द लिम्बूको मिलमा काठ झारेर ५ लाख ७५ हजार रुपैयाँमा बिक्री गरेको उजुरी परेको छ । उपभोक्ता उपसमिति क्षेत्र नम्बर ३ का पदाधिकारी लगायतको संलग्नतामा तस्करी गर्दै बिक्री गरिएको अवस्थामा सेक्टर वन कार्यालय मङ्गलबारेका अधिकृत तारणीप्रसाद चौधरी नेतृत्वको टोलीले मङ्सिर १३ गते पथरीशनिश्चरे–८ मा रहेको विश्वकर्मा स–मिल (आनन्द मिल) बाट दुई सय २५ दशमलव ७५ क्यूफिट सखुवाको काठ बरामद गरेको थियो । टोलीले सात फिट लम्बाइ र १४ फिट गोलाइ भएका तीनवटा ठूला गोलिया बरामद गरेको हो । चिरानी आदेश दिएको पत्रमा उपसमितिका अध्यक्ष लिम्बू र सचिव ठकुरीको हस्ताक्षर भएको रहेको उजुरीमा उल्लेख छ । सेक्टर वन मङ्गलबारेका अधिकृत चौधरीले भने मङ्सिर १२ गते २ सय २५ क्युफिट काठ बरामद भएको र ८,९ जनालाई पक्राउ गरेको बताए । तर अन्तिममा सबैलाई बचाउने खेलमा सेक्टर वन कार्यालयसम्म लागेको बताइएको छ । उपभोक्ता मूल समितिका अध्यक्ष नवीन राईले भने २ सय २५ क्युफिट काठ खोलाबाट निस्किएको भन्दै पदाधिकारीहरुको बचाउ गरेका छन् । उनले भने, ‘मिलिसकेको कुरा हो, तस्करी भएको छैन ।’ यता अख्तियार क्षेत्रीय कार्यालयका प्रवक्ता रामजी कटुवालले अख्तियारमा उजुरी परेको कारण जिल्ला वन कार्यालयलाई अनुसन्धान गर भनेर निर्देशन दिएको बताए ।
वन माफियाविरुद्ध अख्तियारमा उजुरी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























