काठमाडौं / मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका समाजसेवी कमलमणि दीक्षितको निधन भएको छ । दीक्षितको बिहीबार बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा ललितपुरमा निधन भएको हो । दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो । विक्रम संवत १९८६ भदौ, कुशे औँसीका दिन काठमाडौंको गैरीधारामा दीक्षितको जन्म भएको थियो ।
दीक्षितकै सकृयतामा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामग्रीहरूको अभिलेख राख्ने उद्देश्यका साथ २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो । मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानलगायतका संस्थामा पनि उनी आवद्ध थिए । आफैमा साहित्यकार दीक्षितले दर्जनभन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरेका छन् । दीक्षितको अन्त्येष्टी आज बिहान पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । दीक्षितका दुई छोरा र एक छोरी छन् ।