वि.सं. २०७३ साल पुस २५ गते। सोमबार। इश्वी सन् २०१७ जनवरी ९ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वादशी, २३:५३ बजेउप्रान्त त्रयोदशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ हुनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। शुभचिन्तकहरूको सल्लाह लिएर अघि बढ्नुहोला। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ काममा चिताएको फाइदा नउठ्न सक्छ। पहिलेको नतिजा बिग्रनाले आत्मविश्वास कमजोर हुन सक्छ। अद्यावधिक सूचनाको अज्ञानताले काममा पछि परिएला। आगन्तुकले पनि अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। तापनि मेहनत गर्दा बिस्तारै लाभ उठाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। प्रयास गर्दा चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले बनिसकेको काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि लाभ हुनेछ। दिगो काममा लगानी गर्ने मौका जुट्नेछ। तर लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
जिम्मेवारी प्राप्त भए पनि तत्काल कार्यसम्पादन गर्न नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नै सहयोगीले धोका देलान्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सामाजिक नेतृत्व गर्दै प्रतिनिधिमूलक यात्रा गर्ने अवसर जुट्न सक्छ। पछि फाइदा हुने काम हात पार्ने मौका छ। दाम, नाम र इनाम समेत हातपार्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आवेशमा निर्णय लिँदा समस्यामा परिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले केही काम बनाउन सकिनेछ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा अरूले साथ दिनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा पछि दुःख पाइनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अधिकारका लागि संघर्षमा जुट्नुपर्ने हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटले काम बन्नेछ भने बुद्धि लगाउँदा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। सहपाठीहरूलाई पछि पार्दै प्रशस्त फाइदा उठाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। पुरानै समस्याले अप्ठ्यारोमा परिएला। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिवारमा असमझदारी बढे पनि मेहनतले बिस्तारै फाइदा दिलाउनेछ।