इटहरी/ इटहरीमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । ‘ल्याण्ड पुलिङ’ जग्गा विकास कार्यक्रमसहित बाहिरी चक्रपथको डिपीआर यसै महिनाभित्र हुने उपमहानगरपालिकाले जनाएको छ । जनसङ्ख्या वृद्धिसँगै सडक लगानीमा बढावा पाएको इटहरीमा थप बाहिरी चक्रपथको योजना शहरी विकास मन्त्रालयमार्पmत् आउन लागेको हो । यसै आर्थिक वर्षमा इटहरीको बाहिरी चक्रपथको डिपीआर तयार हुने उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनिरयर अर्जुन दाहालले जानकारी दिए । इटहरीको चक्रपथ बनाउने विषयमा आइतबार सर्वपक्षीय छलफल समेत भएको थियो । छलफलमा सहभागीहरुले बाहिरी चक्रपथले छिमेकी नगर र गाउँपालिकालाई समेत समेट्नु पर्ने सुझाव दिएका छन् । नगरपालिका हुँदा शुरु गरिएको इटहरीको चक्रपथ बाहिरी चक्रपथ बनेपछि भित्री चक्रपथका रुपमा विकास हुनेछ । भित्री चक्रपथको ६ किलोमिटरसम्मको काम भइसकेको पनि वरिष्ठ इञ्जिनियर दाहालले बताए । बाहिरी चक्रपथको डिपीआर निर्माणका २५ देखि ३० लाख रुपैयाँ लाग्ने र यसै वर्ष काम हुने उमपाका इञ्जिनियर जीवन घिमिरेले बताए । यसै महिना डिपीआरको टोली बाहिरी चक्रपथको सर्भे गर्न इटहरी आउने बताइएको पनि घिमिरेले जानकारी दिए । शहरी विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७४/०७५ मा योजनाका थालनी हुने बताइएको छ । यो योजना सफल भए इटहरीले ठूलै उपलब्धी प्राप्त गर्ने नगरवासीको भनाइ छ । इटहरीको बाहिरी चक्रपथ ४५ किलोमिटरदेखि ६० किलोमिटरसम्मको हुने अनुमान गरिएको छ । छलफल कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का सांसद रेवतीरमण भण्डारीले ५ वर्षमा सम्पन्न हुने गरी योजना बनाइएको चक्रपथ इटहरीका लागि केन्द्रीय सरकारको ठूलो आयोजना हुने पनि बताए । पछि मेट्रो रेल कुदाउने र सोलार जडान तथा हरियाली पार्क समेत हुने गरी ६० फिटको चौडा सडकको तयारी गर्नुपर्ने उनको भनाइ थियो । इटहरीको बाहिरी चक्रपथ तालतलैया, पानीपिया, साविक हाँसपोसा, पकली, खनारहुँदै तयार हुने बताइएको छ । तर, बक्लौरी गाविस र रामधुनी भाषी नगरपालिकामा पनि केही किलोमिटर चक्रपथ जोडिनु पर्ने त्यहाँका राजनीतिक दलका नेताहरुले माग राख्न शुरु गरेका छन् । २०६४ सालमा इटहरीको अद्यावधिक योजना हुँदा यी दुवै चक्रपथको कल्पना गरिएको थियो । इटहरी उमपाका कार्यकारी अधिकृत टीकादत्त राईले नगरको लागि यो योजना गौरवको बन्ने भन्दै सफल बनाउनु पर्नेमा जोड दिएका छन् । नेपाल सरकारकै लगानीमा हुने यो योजनाबाट एक नम्बर प्रदेशको राजधानी दाबी गरिएको इटहरीमा थप आधार तयार हुने नेकमा माओवादी केन्द्र इटहरीका संयोजक सागर सुवेदीले बताए । सबै मिलेर योजना सफल बनाउनु पर्नेमा उनको जोड थियो । सडक निर्माणमा मुआब्जा दिन नसकिने भएकोले ट्रयाक खोलिएको बाटोलाई प्राथमिकता दिएर स्थानीय वासिन्दालाई प्रभावित नहुने गरी योजना तयार गरिने पनि कार्यकारी अधिकृत राईले बताए । जनगणना ०५८ मा इटहरीको जनसङ्ख्या ४१ हजार दुई सय १० थियो भने उपमहानगर हुँदा डेढ लाख नाघिसकेको छ । इटहरीमा वर्षेनी एक हजारभन्दा बढी घर निर्माण हुँदैआएका छन् । पूर्वी पहाडी जिल्लाबाट बसाइसराई गरी आउनेको सङ्ख्या इटहरीकेन्द्रित हुने गरेको छ ।