अहिलेको युगमा विज्ञानले निकै सफलता हात पारिसकेको छ । यद्यपी, विज्ञानको अहिले पनि केही यस्ता सीमा छन्, कुनै कुरा यस्ता छन् जो विज्ञानको परिधिबाट आज पनि निकै टाढा छन् । केहि दिन अघि बेलायतको हाई स्कूलमा पढ्ने एक किशोरी १२ वर्षको उमेरमा आमा बनिन् भन्ने समाचार आयो । हुन त उनलाई बेलायतमा सबैभन्दा कम उमेरमा आमा बन्ने किशोरीको दर्जा दिइयो । तर यदि हामीले इतिहासलाई केलाउने हो र विश्व स्तरमा कुरा गर्ने हो भने यो उपाधि पेरुकी लिना मदिनाको नाममा दर्ता छ जसले मात्र पाँच वर्ष र सात महिनामा एक स्वस्थ छोरालाई जन्माएकी थिइन् । यो घटना चिकित्सा विज्ञानका लागि आजसम्म पनि एक रहस्य नै बनेको छ । विज्ञानलाई चकित बनाउने तर पूर्ण रुपमा वास्तविक लिना मदिनाको कहानी यस्तो छः
लिना मदिनाको जन्म पेरुको तिक्रापोमा सन् १९३३ को सेप्टेम्बर २७ मा भएको थियो । सुनार परिवारमा जन्मिएकी उनका बुवा टिबुरेलो मदिना र आमा भिक्टोरिया लोसिया हुन् । लिना जब पाँच वर्षकी थिइन् तब उनको पेट अस्वभाविक रुपमा बढ्न थाल्यो जसका कारण उनका आमा–बुवा चिन्तित भए । चुकी तिक्रापो एक ग्रामिण इलाका थियो त्यसकारण उनीहरु त्यहाँको स्थानीय मान्यता अनुसार एक स्थानीय झारफुक गर्ने व्यक्तिसँग परामर्श लिन गए । थुप्रै झारफुक र अनुष्ठानपश्चात् पनि केही फाइदा भएन । उनको पेटको आकार निरन्तर बढि नै रह्यो ।
लाचार आमा बुवाले उनलाई कुनै चिकित्सकलाई देखाउन पिस्को शहरको एक अस्पताल पुर्याए । सुरुमा सबैले यहि सोचेका थिए– उनको पेटमा ट्युमर पलाएको छ तर डाक्टरले परिक्षणपछि निष्कर्ष निकाले – उनी सात महिनाकी गर्भवती हुन् । डा. जेरार्दो लोजादाले लिना गर्भवती भएको पुष्टि गर्नका लागि उनलाई अन्य विशेषज्ञलाई देखाउन लिमा पुर्याए । त्यहाँ पनि उनी गर्भवती भएको पुष्टि भयो ।
अन्त्यमा सन् १९३९ मे महिनाको १४ तारिख (आमाको मुख हेर्ने दिन) मा मदिनाले शल्यक्रियामार्फत एक छोरालाई जन्म दिइन् किनभने सामान्य प्रसुतीका लागि उनको कोखको आकार सानो भएकाले सम्भव थिएन । उनको शल्यक्रिया डा. लोजादा र डा. बुसालिउल्वारा गरिएको थियो ।
साढे दुई वर्षमा नै भएकी थिइन् रजस्वलाः
लिनाको कहानी निकै बिस्तार पूर्वक त्यतिबेलाका मेडिकल जर्नलमा प्रकाशित भएको थियो जसअनुसार लिना साढे दुई वर्षमा नै रजस्वला भएकी थिइन् । डाक्टरहरुले यसबारे थप उपचार गर्दा उनको महिनावारी उनी आठ महिना हुँदादेखि नै सुरु भएको पत्ता लगाए । चार वर्षको उमेरसम्म उनको स्तन पूर्ण रुपमा विकसित भइसकेका थिए । पाँच वर्षको उमेरसम्म उनको कोखको चौडा र अंग परिपक्कता पनि निकै हदसम्म भइसकेको थियो । जब बच्चा निकाल्न डाक्टरहरुले उनको शल्यक्रिया गरे तब उनीहरुले पनि लिनाको शरिरभित्र प्रजनन अंगको विकास पूर्ण भइसकेको पाए ।
लिनाको छोराको नाम डा. जेरार्दोको नामसँग प्रभावित भएर जेरार्दो राखियो । जन्मका बेला जेरार्दोको तौल २.७ किलो थियो । बाल्यकालमा जेरार्दोलाई लिनाको भाइ भनी हुर्काइयो तर जब उनी १० वर्षका भए तब उनलाई आफू मदिनाको छोरा भएको ज्ञान भयो । सन् १९७९ मा जेरार्दोको ४० वर्षको उमेरमा ‘बोन म्यारो’ रोगका कारण मृत्यु भयो । युवावस्थामा लिनाले डा. लोजादाको लिमास्थित क्लिनिमा एक सचिवको रुपमा काम गरिन् जसले उनी र उनको छोराको शिक्षाका लागि सहयोग गरेका थिए ।
पछि लिनाले राउल जुरादोसँग विवाह गरिन् जो सन् १९७२ मा जन्मिएका उनका दोस्रो छोराका पिता बने । सन् २००२ सम्म यो दम्पत्ति लिमाको एक गरिब बस्ती ‘शिकागो चिको’ मा बस्दथे । लिनाले यस विषयमा कसैलाई पनि केही अन्तर्वार्ता दिएकी छैन । सन् २००२ मा उनले समाचार एजेन्सी रोयटर्सलाई पनि अन्तर्वार्ता दिन अस्विकार गरिदिइन् ।
बच्चाको बुवाको कहिले पत्ता लागेनः
लिनाले कहिले पनि आफ्नो बच्चाको पिताको नाम र ती परिस्थिती जसमा उनी गर्भवती भइन् भन्ने विषयमा केही खुलासा गरिनन् । डा. एस्कोमेलका अनुसार लिना आफैंलाई पनि यसबारे राम्रोसँग याद छैन । जेरार्दोले लिना गर्भवती भएको पत्ता लाग्ने बित्तिकै पुलिसलाई सुचित गरे र लिनाका बुवालाई बलात्कारको आशंकामा पक्राउ गरियो । तर पछि प्रमाण अभाव भएपछि उनलाई छोडियो । त्यसपछि उनका ११ वर्षीय मन्दबुद्धि भाइलाई पनि पक्राउ गरियो उनलाई पनि प्रमाणको अभावमा छोडियो ।
यस विषयमा समिक्षा गरिएको एक लेख सन् १९५५ मा छापियो जसअनुसार केही गाउँमा (लिनाको गाउँ पनि एक) धेरैजसो चाडपर्व मनाइन्थ्यो र उत्सवको अन्तिममा सामूहिक रुपमा यौन सम्बन्ध बनाइन्थयो । यहि नै बेला धेरै महिलालाई बलात्कार पनि गरिन्थ्यो । हुनसक्छ यस्तै केही उत्सवमा लिनाको पनि शारिरिक सम्बन्ध स्थापित भएको थियो ।