भद्रपुर/झापा जिल्लाका शहरी क्षेत्रमा कुष्ठरोगीको संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।६४ औ विश्व कुष्ठरोग दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय झापाले आइतवार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालयका क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले उक्त जानकारी गराएका हुन् ।
नेपाल सरकारले २०६६ साल माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेपनि तराईको धनुषा जिल्लापछि झापा दोस्रो स्थानमा रहेको जनाइएको छ । झापाको सीमावर्ती गाविस अघिल्लो बर्षहरुमा कुष्ठ रोगीको सख्या बढी भेटिएपनि चालु आवको प्रथम चौमासिक तथ्याक अनुसार अहिले शहरी क्षेत्रमा कुष्ठ रोगीको संख्या बृद्धि भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताऐ ।
कुष्ठ रोग एक प्रकारको सरुवा रोग भएकोले शहरी क्षेत्रमा जनसख्या बढी भएकोले सोही क्षेत्रहरुमा कुष्ठ रोगी बढेको कार्यालय प्रमुख कोइरालले बताए । कार्यालयको तथ्याक अनुसार गत बर्षको तुलनामा केही प्रतिशतले कुष्ठरोगी घटेपनि चालु आवको कार्तिक मसान्त सम्म झापाको तीन नगरपालिका सहित २२ गाविसमा कुष्ठरोगीको संख्यामा बृद्धि भएको छ, भने एक नगरपालिकासहित ८ गाविसमा कुनै रोगी नभेटिएको देखिन्छ । चालु आवको प्रथम चौमासिकमा ५९ जना नया रोगी फेला परेकोमा झापामा १५४ जना रोगी रहेको जनाइएको छ ।