विजयपुर/ नेकपा (एमाले) धरान उपमहानगर कमिटीले आफ्ना युवा नेतामाथि आक्रमण गर्ने संरक्षित गुण्डाहरुलाई कडा कारवाही गर्न माग गरेको छ ।
एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष तारा सुब्बाले बुधबार प्रेस विज्ञप्ति जारी गरी कमिटीका सदस्य तथा युवा इञ्चार्ज दिवस राईमाथि सङ्गठित रुपमा गुण्डागर्दी गर्दै आएका सन्तोष बिक सहितको गिरोहले साङ्घातिक आक्रमण गरेको भन्दै फरार रहेका अन्य ‘अपराधी’हरुलाई पनि पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।‘ सङ्गठित अपराध गर्ने ’गिरोहलाई बिगतमा प्रशासनले उन्मुक्ति दिएको कारण अपराधीहरुको मनोबल बढेको भन्दै विज्ञप्तिमा उनीहरुलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गरिएको छ ।
पक्राउ परेका ‘सङ्गठित अपराधका नाइके’ तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष बिक र फरार अन्य दोषीहरुलाई फेरि पनि उन्मुक्ति दिइए यसबाट भविष्यमा उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित पक्षनै हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच अखिल नेपाल महिला सङ्घ १ नम्बर क्षेत्रीय कमिटी तथा धरान उपमहानगर कमिटीले पनि विज्ञप्ति जारी गरी घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । घटनामा संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा नल्याइए अनेमसङ्घ आन्दोलनमा ओर्लने समेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अनेमसङ्घ १ नम्बर क्षेत्रीय समितिकी अध्यक्ष लहरुमाया जिमीले हस्ताक्षर गरेकी छन् ।