सृष्टि  सोच्थी, एक दिन यो सपना बिपनामा बदलिनेछ ।   हरेक रात सपनीमा एउटा संगीत साधक आउने गथ्र्यो । मायाका मीठामीठा कुरा गथ्र्यो । अनि मीठो गीत गाउने गथ्र्यो । सृष्टि मन्त्रमुघ्ध हुन्थी । संगीत साधकको नजिकै छातीमा अडेस लाउँथी, साधक आफ्नो हात सलबलाउँथ्यो । अनि भन्थ्यो, ‘सृष्टि मलाई सधैँ यसरी नै माया गर है ।’ सृष्टिले हुन्छ भन्न नभ्याउँदै बेजोडको तुफान आउँथ्यो, आफैँ सम्हालिन नसकिने खालको । ‘सृष्टि अब त उठ ८ बजिसक्यो ।’ सपनामै झस्किएर उठी सृष्टि ।

‘ह्या, आमालाई पनि यही बेला उठाउनुपर्ने ।’ त्यो तुफानमा मलाई मेरो साधकले बेस्सरी अँगालेर पर सुरक्षित ठाउँमा लैजान्थ्यो होला । जहिले उठाउनुपर्ने । म आफैँ उठ्थेँ नि ।’ सृष्टि बर्बराउँदै उठ्छे । त्यसपछिको उसको दिनचर्या भनेको फेसबुक खोल्ने हुन्थ्यो । अनि सर्च बक्समा गएर उही साधक (जो एउटा टप सेलेब्रिटी थियो) को नाम हालेर उसको फेसबुक वालमा जान्थी । अनि, एकएक गर्दै फोटो हेर्थी । एउटै फोटो ऊ घन्टौँसम्म हेर्न सक्थी । त्यतिबेलासम्म सृष्टिलाई आमाले बोलाउँथिन् । ‘चिया खान आऊ, अझै सुतेको ?’ ‘छैन, अब एउटा गीत हेरेर आउँछु ।’ त्यसपछि युट्युब खोल्थी उसको गीत हेर्न । सोच्थी, साधक सबै गीतहरू उसैका लागि गाउँछ, माया र भावसँगै । एक किसिमको सपनाको संसारमा निकै नै खुसी छे सृष्टि । ‘अब त कलेज जान हतार भयो है,’ आमा फेरि चिच्याउँथिन् । ‘आएँ आएँ ।’ ०० कलेजमा पनि उस्तै । साथीभाइ हैरान थिए, सृष्टिको उही संगीत साधकको बयान सुन्दासुन्दा । एउटी असाध्यै मन मिल्ने साथी थिई, सारिका । सृष्टिलाई बडो माया गर्थी । सृष्टिको पागलपन देखेर कतिपटक भन्थी, ‘सृष्टि तँ यति धेरै उसलाई चाहन्छेस् भने, आई विल हेल्प यु टु, रिच हिम ।’ ‘ह्या भयो छोड । मेरो सपनाकै संसार ठीक छ, जहाँ म हरेक रात उसलाई पाउँछु, माया गर्छु, नजिक हुन्छु । मलाई बिपनासँग डर लाग्छ । यथार्थमा बाँच्न गाह्रो हुन्छ, हाँस्न झन् मुस्किल । फेरि ऊ आममान्छे पनि होइन, सेलेब्रिटी हो सेलेब्रिटी । मैले चाहेर मसँग नजिक हुन्छ भन्ने सोचेकी छस् कि क्या हो ? उसका मजस्ता फ्यान लाखौँ छन् । मैले आकासको जुन मन पराएकी छु, जो मेरो रातमा मात्र आउँछ अनि उज्यालो हुन नपाउँदै हराउँछ । हरेक रात म यसरी नै खुसी हुन चाहन्छु । त्यसैले सारिका मलाई यो सब गफ नदे, प्लिज । नजाने गाउँको बाटो नसोध्नु रे । असम्भव कुरामा किन टाउको दुखाउनु !’ ‘असम्भव भन्ने केही हुँदैन सृष्टि । तेरो साधक ( सृष्टि सबैसँग आफ्नो सपनाको राजकुमारलाई साधक भन्ने गर्थी) सँग कुनै दिन उज्यालोमै भेटिस् भने के गर्छेस् ?’ ‘अँध्यारोमा सधैँ नजिक छु । उज्यालोमा भेटेँ भने टाढैबाट नअघाउन्जेल हेर्छु । आँखाले माया गर्छु । एउटा कुरा थाहा छ सारिका ? माया गर्न नजिक हुनुपर्दैन नि । मन भए पुग्छ । अपार माया गर्न सकिन्छ मनमनबाटै, यदि माया निस्वार्थ हो भने । आँखैले माया गर्न सकिन्छ, मनको भाकामा त्यत्तिकै ताकत हुन्छ । माया गर्न मुटु भए पुग्छ । सामिप्यता त मायाका ढोँगीहरूका लागि मात्र हो । म टाढैबाट माया लाउँछु । सपनाकै संसार सही, मीठो माया लाउँछु ।’ ‘अरे बा, तेरो यो माया हो कि आकर्षण ?’ ‘त्यो त समयले बताउला सारिका ।’ कलेजमा सृष्टिको खालि समय यसरी नै बित्थ्यो । एउटा अचम्मको प्रेम कथासँगै । सारिकाले भने जस्तै अब उसलाई त्यो साधक नजिकबाट नियाल्न मन थियो । धेरैबेर हेर्न मन थियो । आँखाले नै भए पनि माया गर्न मन थियो । सोचेजस्तै एक दिन कलेजमा उही साधकको कन्सर्ट भयो । टोल थर्किने गरी गीत बज्यो । संगीतको रमाइलो माहोल । बडो झमझम थियो । संगीतको तालमा झुम्दै थिए सबै । सृष्टि भने परबाट साधकलाई नियाल्दै मात्रै थिई । मन भर्ने गरी हेर्दै थिई, आफ्नो सपनाको राजकुमारलाई । साथीहरू नाच्नका लागी उसलाई तान्दै थिए । ऊ एकनासले टोलाएर साधकको हरेक गीतको भिडियो खिच्दै थिई, आफ्नो मोबाइलबाट । कन्सर्ट सकियो । सबै घर गए । ऊ जहाँको त्यहीँ उभिराखेकी थिई, साधक गएको परसम्म नियाल्दै ।

‘ओई सृष्टि, कुरा गर्छेस् म मिलाइदिन्छु ।’ ‘भयो सारिका पर्दैन ।’ ‘आज म तृप्त छु । केही हतार छैन । ऊ भरे राति फेरि आउँछ, अनि म फेरि मीठो माया लगाउँछु ।’ ‘तँलाई त खै के भाको । चेकअप गर्न लानुपर्ने हो कि जस्तो लाग्छ ।’ ‘हाहा, कहिल्यै कसैलाई यति धेरै मन पराएको भए थाहा हुन्थ्यो ।’ दुवै घरतिर लागे । ००

‘सृष्टि खाना खान आउ,’ घरमा आमा बोलाउँछिन् । ‘आज मैले कलेजमै खाएँ आमा । मलाई भोक छैन ।’ आज सृष्टि भरिएकी छे पूर्णतः । सीधै कोठामा जान्छे । ल्यापटप खोल्छे । अनि फेसबुक । आज साधकलाई फ्रेन्ड रिक्वेसट पठाउँछे । अहिलेसम्म उसले रिक्वेस्ट गरेकी थिइन् । हेर्न मन लाग्यो भने सर्च गरेर हेर्थी । तर धेरै दिनसम्म रिक्वेस्ट एसेप्ट भएन । सोच्छे, मजस्ता रिक्वेस्ट पठाउने कैयौँ होलान् । ठीकै छ । उसको खिचेको भिडियोहरू चाहिँ पठाइदिनुर्पयो । आफ्नो भिडियो हेर्दा रमाइलो लागोस् उसलाई । फेरि सर्च बक्समा गएर सर्च गर्छे । म्यासेज बक्समा जान्छे र कन्सर्टको उसको राम्रो भिडियो सेन्ड गरेर, छोटो म्यासेज लेख्छे । ‘योर भिडियो फ्रम पिन्याकल कन्सर्ट ।’ म्यासेज डेलिभर्ड । अनि एकछिनमा सिन स्ट्याटस । सृष्टि एक किसिमको छट्पटाउँछे, कहीँ मैले गल्ती त गरिन । विपनाको मोहले सपनामा गुमाउनु नपरोस् । एकछिनमा त रिप्लाई पनि आउँछ । ‘थ्यान्क्यु, कहाँबाट पाउनुभो ?’ ‘मैले खिचेको नि । अनि रिक्वेस्ट एसेप्ट गर्नुभएन नि !’ ‘मैले भर्खर गरेँ ।’ ‘साथी बन्न भिडियो पठाउनु पर्ने ?’ ‘त्यस्तो होइन ।’ गफ यसरी नै सुरु हुन्छ । सृष्टि आफूले खिचेको सबै भिडियो पठाइदिन्छे । ‘यति धेरै खिचेको ?’ ‘आफूलाई मन पर्ने सेलेब्रिटी अगाडि पाउँदा नखिची बस्न सकिनँ ।’ ‘थ्यांक्यु सो मच ।’ अनि तपाईं के गर्नुहुन्छ ? मेरो गीत कत्तिको सुन्नु हुन्छ ? तपाईंलाई कन्सर्ट कस्तो लाग्यो । उसले यस्तै–यस्तै धेरै जिज्ञासा राख्यो । सुरुवाती गफ सतही नै थिए । तर, बिस्तारै सामिप्यता बढ्दै गयो । ‘तपाईंलाई मेरो नयाँ गीत पठाउँछु है ।’ ‘सुन्नुस् न तपाईं मलाई तपाईं नभन्नुस्े न । तिमीभन्दा अझ मिठो सुनिएला ।’ तपाईंको स्वरको त म कसरी बयान गरुँ । मेरो जिउने आधार भाको छ । तपाईंबिनाको संगीतको संसार कति अपुरो हुन्थ्यो होला ।’ ‘तिमीलाई त्यस्तो लागेको हो सृष्टि । मन परेर मेरो स्वरको यति धेरै बखान गर्दैछ्यौ । भन त तिमी मेरो संगीत मात्र मन पराउँछ्यौ कि मलाई पनि ?’ अब भने सृष्टि अवाक् भई । ‘बोल न, किन केही लेख्दिनौ ?’ सृष्टि हात काँप्दै लेख्छे– ‘तपाईंको स्वरको त म यसै पनि फ्यान छु । तपाईं झन् मेरो सपनाको राजकुमार हुनुहुन्छ । तपाईं मलाई यति मन पर्छ कि म शब्दमा व्यक्त गर्नै सक्दिनँ । खै यो माया हो कि आकर्षण मैले छुट्याउन सकेको छैन । त्यो समयले बताउला ।’ ‘एउटा कुरा भनौँ सृष्टि ?’ ‘अँ भन्नु न ।’ ‘आजकाल त तिमीले भन्दा मैले तिमीलाई धेरै मन पराउन थालेको छु ।’ ‘म कसरी विश्वास गरुँ । तपाईंका कैयौँ फ्यानहरू छन् । मजस्तै भुतुक्कै हुनेहरू सयौं छन् होला । कोही न कोहीसँग त मभन्दा पहिले माया बसिसकेको होला । म कसरी पत्याउँ तपाईं पनि मलाई माया गर्नु हुन्छ भनेर !’ ‘तिमीले भनेजस्तै त्यो पनि समयले बताउनेछ सृष्टि, म तिमीलाई कति मन पराउन थालेको छु भनेर । अहिले तिमीलाई पत्याउन गाह्रो पर्ला । मलाई विश्वास छ, मेरो माया यसै खेर जाँदैन ।’ सृष्टि खुसीको साइन सेन्ड गर्छे । साधक आफ्नो माया जताउँछ, लभ साइन सेन्ड गरेर । सृष्टि पनि लभ साइन पठाउँछे । ०० सृष्टिका पछिल्ला साँझ यसरी बित्न थाले । ऊ साधकसँग भिडियो कलमा घन्टौँसम्म कुरा गर्न थाल्छे । सपना पनि पहिलेकै देख्थी कि हररात साधक आउँथ्यो र कतै घुमाउन लैजान्थ्यो । अब सृष्टिलाई संसार झन् फराकिलो र रंगीन लाग्न थालेको थियो । सपनी र विपनी दुवैमा उसकै प्रेमी । यसरी नै दिन बित्यो, महिना बित्यो, वर्ष बित्न थाल्यो, तर मायामा कमी आएन । उही आत्मीयता, मीठो माया, उही सद्भाव । वर्षौंपछि फेसबुकबाट माथि उठेर भेट्ने साहस गरे दुवैले । भ्यालेन्टाइन्स डेको दिन थियो । माया गर्नेहरूका लागि महत्त्वपूर्ण दिन । सृष्टि रातो टाइट गाउनमा, समग्रमा रातै शृंगारमा सजिई । नजिकैको पसलमा एउटा गुलाफको फूल किनी र, भेट्न भनेको स्थल बानेस्वरको एलिनाज बेकरी क्याफेतिर लागी । साधक पनि नीलो जिन्स र रातो टिसर्ट लगाएर गुनगुनाउँदै हातमा गुलाफ बोकेर एलिनाज आउँदै थियो । एलिनाजदेखि सय मिटर टाढाबाट उनीहरू देखिन थाले, रातो पहिरन, गुलाफको फूल र मृदु म मुस्कानमा । प्रेमले भरिएर सय मिटर पनि सयौं कोस लाग्दै थियो, पाइलाहरू ढिलो भएजस्तो । माया साट्न हतार यो जोडी परैबाट आँखा आँखैले बेजोड माया गर्दै थिए । कदम नजिक पुग्नै आँट्यो । बेस्सरी चिच्याएको आवाज आयो– डरलाग्दो र भयभीत आवाज, कुनै दुर्घटना झेल्दै गरेको आवाज । उताबाट आएको ट्याक्सीले अगाडिको बच्चा जोगाउन छल्ने हुँदा सृष्टिलाई हान्न पुग्यो । एक निमेषमा सृष्टिले देह त्याग गरी । तर, उसको हातको गुलाफ जस्ताको तस्तै थियो । [email protected]