नेपाली चलचित्रकी परिचित अनुहार हुन, सुष्मा कार्की । दर्जन बढी चलचित्रमा अभिनय गरेकी सुष्मा खासै चल्न सकेकी नायिकाको सूचीमा पर्दिनन् । बोल्ड सिन दिएर एकदुई दिन बजार तताएपनि उनको चलचित्रले अहिलेसम्म नेपाली बजारमा धुम मच्चाउन सकेका छैनन् । जसले गर्दा अहिले उनी विभिन्न देशहरुमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुमा ‘उध्रेको चोली छ है’ भन्दै ठुम्का लगाउनमा नै व्यस्त छिन् । गएको बर्ष उनी अभिनित चलचित्र ‘चलेछ बतास सुस्तरी’ प्रदर्शनमा आएको थियो तर दई चलचित्र ‘प्रेमगीत’ र ‘क्लासिक’ को अगाडी यो चलचित्रले न बतास चलायो न सुष्माको करियरमा ईट्टा थप्ने काम नै गर्यो ।

‘मेरो एउटा साथी छ’ चलचित्रबाट आफ्नो करियर सुरु गरेकी सुष्मालाई ‘सुष्मा कार्की’ भनेर चिनाउन भने चलचित्र ‘लुट’ को आइटम गीत ‘उध्रेको चोली’ सफल भयो । यो गीतमा ठुम्का लगाएपछि त उनको माग चलचित्रमा होइन स्टेज कार्यक्रममा बढ्न थाल्यो । ब्वाईफ्रेण्डसँगको लफडाका कारण पनि खुबै चर्चामा आएकी सुष्मा अहिले फुर्सदिलो छिन् । न उनको हातमा चलचित्र छ न त उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरु नै उनको घरको ढोका ढकढकाउन पुगेका छन् ।

चलचित्र ‘बिन्दास २’ मा उनले दिएको हट सिनको चर्चा बेला बखतमा नेपाली सिनेवृतमा गज्जबले चल्ने गर्छ र यो पनि भनिने गरिन्छ कि, ‘सुष्माको करियर चौपट बनाउने चलचित्र नै ‘बिन्दास २’ हो । ‘सुन्छु तिमीले मलाई’ बोलको गीत हिट भएपनि सुष्मालाई भने फल्प नायिकाको सूचीमा उभ्यायो । उनले बारम्बार भन्छिन् भन्न त, ‘ठूलो गल्ती भयो बिन्दास २ गर्नु’ । तर, अहिले पछुताएर के नै पो हुन्छ होला र ?

‘उध्रेको चोली’ ले चर्चामा ल्याएको सुष्मालाई त्यसपछिका कुनै पनि चलचित्रले करियर टाल्ने काम गरेनन् बरु लथालिंग मात्र बनाए । फेसबुकमा झण्डै साढे सात लाख फ्यान बनाइसकेकी सुष्माको दैनिकी अहिले आफ्नो तश्वीरहरु पोष्ट गर्नमा नै वित्छ । फाट्ट फुट्ट म्यूजिक भिडियोमा देखिने सुष्माले केही हप्ता अगाडी एक अन्तर्वार्ताको क्रममा चाँडै एक चलचित्रमा व्यस्त हुन लागेको बताएकी थिइन ।